Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

काठमाडौं – सहकारीको बचत अपचलनमा संलग्न देखिएका कांग्रेस उपसभापति एवं सांसद धनराज गुरुङ अझै अनुसन्धानको दायरा बाहिर छन् । संसदीय छानबिन विशेष समितिले शीघ्र अनुसन्धान गर्न निर्देशन दिए पनि गुरुङसँग सोधपुछ पनि नगरिएको हो ।

मितेरी बचत तथा ऋण सहकारीको रकम दुरुपयोगमा संलग्न रहेको आरोपमा गत साउनमा गुरुङविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी परेको थियो । धनराजले श्रीमतीको नाममा सहकारीको रकम अपचलन गरेको भन्दै उजुरी परेको छ, जसमा श्रीमतीसँग नक्कली सम्बन्धविच्छेद गरेर उनले आफ्नो संलग्नता छिपाउने प्रयास गरेको भनिएको छ ।

गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ र अर्का आरोपित ज्योतिबहादुर भण्डारीलाई इन्टरपोलले ‘रेड नोटिस’ जारी गरिसकेको छ । सहकारीले गरेको आन्तरिक छानबिनमा उनीहरूको मिलेमतोमा १४ करोड रुपैयाँभन्दा बढी हिनामिना भएको पुष्टि भएको थियो । सहकारी सञ्चालकहरूले धनराज गुरुङ र ज्योति गुरुङसँग छलफल गर्दा स्पष्ट पार्न नसकेपछि २०७६ मा सम्बन्धविच्छेद गरेको भए पनि गुरुङले पछि सहकारीबाट ऋण लिँदा ज्योति गुरुङकै नाम उल्लेख गरेका थिए । यसले सम्बन्धविच्छेदको नक्कली प्रकृति उजागर गरेको संसदीय छानबिन समितिले जनाएको छ ।

समितिले गृह मन्त्रालयलाई ज्योति गुरुङलाई खोजेर उपस्थित गराउन आग्रह समेत गरेको छ । सीआईबीका अनुसार सहकारी ठगी अनुसन्धानका लागि मितेरी सहकारी, खातावाला बैंक र राष्ट्र बैंकबाट आवश्यक कागजात मगाउने कार्य भइरहेको छ । धनराजको नाम समेत उजुरीमा समावेश गर्दा सीआईबीले दर्ता गर्न नमानेको स्रोतको भनाई छ ।

संसदीय समितिको प्रतिवेदनले प्रदेश सहकारी रजिस्ट्रार कार्यालय हेटौंडामा उजुरी परेपछि धनराजविरुद्ध शीघ्र कानुनी कारबाही अघि बढाउन निर्देशन दिएको छ । सहकारी ठगीमा धनराजको संलग्नता खोज्नका लागि अनुसन्धान चलिरहेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए । ‘सबैसँग सोधपुछ गरेर कागजात गराएपछि र थप कागजात आएपछि आवश्यक परे धनराज गुरुङसँग सोधपुछ गर्छौं,’ उनले भने ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया