Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025

काठमाडौं – पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेसँगै रास्वपाले सशक्त आन्दोलन थाल्यो । रविलाई कास्की प्रहरीको हिरासतमा राखेपछि रास्वपाका नेता तथा कार्यकर्ताले कास्की जिल्लाबाटै विरोध प्रदर्शन गर्न सुरु गरे । सभापति लामिछानेले पक्राउपछि एक वक्तव्यमा ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’ भनेका थिए ।

यस घटनापछि रास्वपाका कार्यकर्ताले पोखरामा सरकारविरुद्ध सडक आन्दोलन चलाए, तर जनताले खासै साथ नदिएपछि आन्दोलनको प्रभाव कम देखियो । पोखरामा अपेक्षित समर्थन नपाएपछि रास्वपा नेता काठमाडौं फर्किए । काठमाडौंमा गत शुक्रबार पनि प्रदर्शन गरियो, तर यहाँ पनि सहभागिता न्यून देखियो । यसले रास्वपालाई केही चुनौतीको सामना गर्न बाध्य बनाएको छ । पक्राउ परेको अभियुक्तलाई आन्दोलनको माध्यमबाट छुटाउन असम्भव भएपनि रास्वपाले सरकारमाथि दबाब दिने प्रयास जारी राखेको छ ।

रास्वपाका उपसभापति डिपी अर्याल यस घटनामा विशेष सक्रिय रहँदै आएका छन् । यद्यपि कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छैनन्, अर्यालले बालुवाटारदेखि सिंहदरबारसम्म धाएर प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई भेटेका छन् । एकातिर आन्दोलनमा सरकारविरुद्ध विरोध जनाउँदै सडकमा नारा लगाउने अर्याल, अर्कातिर सरकारी अधिकारीसँग पनि सहकार्य गर्ने प्रयासमा जुटेका छन् ।

शनिबार सिंहदरबारमा गृहमन्त्रीसँगको भेटपछि पनि समाधान नभएपछि आइतबार बालुवाटारमा प्रधानमन्त्रीसँग पनि उपसभापति अर्यालले रविलाई छुटाउने वातावरण मिलाइदिन आग्रह गरेका थिए । तर प्रधानमन्त्री ओलीले ‘मुद्दा अदालतको प्रक्रियामा छ, यसमा सरकारले हस्तक्षेप गर्न सक्दैन’ भनेर स्पष्ट जवाफ दिए । प्रधानमन्त्री ओलीले कानूनलाई पालना गराउनु आफ्नो कर्तव्य भएको बताउँदै रविको रिहाईमा तत्काल कदम चाल्न असमर्थता जनाए ।

एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले रास्वपाका नेताहरूको यो प्रयासप्रति कटाक्ष गरेका छन् । उनले दिनभरि सडकमा सरकारविरुद्ध व्यक्तिगत आक्षेप लगाउने र राति बालुवाटारमा ‘रविजीलाई बचाइदिनुपर्‍यो’ भनी हारगुहार गर्न आउने प्रवृत्तिलाई राजनीतिक धैर्यको अभावको संज्ञा दिएका छन् । रिजालले फेसबुकमा लेख्दै राजनीतिमा इमानदारी र धैर्य अपरिहार्य हुने कुरा उल्लेख गर्दै ‘जे गर्छ, कानूनले गर्छ’ भनेर कानुनी प्रक्रियामा रहेकाले रविको मुद्दा सरकारको हुकुममा फिर्ता नहुने तर्क गरे ।

रास्वपाले आन्दोलन गरिरहेको समय माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सरकारविरुद्ध आन्दोलनको संकेत गरेका छन् । शनिबार काठमाडौंमा माओवादी केन्द्रले आयोजना गरेको प्रदर्शनले राजनीतिक अस्थिरता बढेको संकेत गरेको छ ।

आरजुसँग मागे समय
रास्वपाका उपसभापति अर्यालले अर्यालले मंगलबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग पनि भेट गर्न समय मागेको जानकारी सार्वजनिक भएको छ।

सामाजिक सञ्जालमा एक तस्बिर भाइरल बनेको छ, जसमा उपसभापति अर्यालको मोबाइल स्क्रिनमा परराष्ट्रमन्त्रीको स्वकीय सचिव कमल रावललाई पठाएको सन्देश देखिन्छ । म्यासेज बक्समा अंग्रेजीमा ‘कमल जी, म डिपी अर्याल । एक पटक मन्त्रीज्यूसँग सर्ट मिटिङको टाइम मिलाउनु न’ लेखिएको छ ।

यो तस्बिर अर्यालसँगै रहेको कसैले खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेको हुनसक्छ भन्ने अनुमान गरिएको छ । तस्बिरको सत्यता पुष्टि गर्न अर्यालसँग सम्पर्क गर्न प्रयास गरिए पनि सम्भव भएन । तर, मन्त्री राणाको सचिवालयले रास्वपा उपसभापति अर्यालबाट परराष्ट्रमन्त्रीसँग भेटका लागि समय मिलाउन अनुरोध आएको दाबी गरेको छ ।

यसैबीच प्रधानमन्त्री ओलीले भने कुनै पनि हालतमा असामाजिक क्रियाकलाप र कानुनविपरीतका कार्यलाई बढ्न नदिने प्रतिबद्धता जनाएका छन् । मंगलबार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा बोल्दै ओलीले विभिन्न शक्तिहरूले नेपाली समाजमा विखण्डन ल्याउन खोजेको भन्दै यसलाई नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार सरकार असामाजिक, अराजक, र संविधान तथा कानुन विपरीतका गतिविधिहरूलाई कतैबाट पनि बढ्न वा मौलाउन दिने पक्षमा छैन ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया