Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024
  • टोकियोमा १४औं नेपाल फेस्टिवल-२०२४ : नेपाल प्रवर्द्धन र पर्यटन विकासका लागि विशेष महोत्सव

टोकियो – जापानको टोकियोमा हुने १४औं नेपाल फेस्टिवल-२०२४ को तयारी तीव्र पारिएको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जापान, जापानका लागि नेपाली राजदूतावास टोकियो, र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा हुन लागेको १४औं नेपाल फेस्टिवलको तयारी तीव्र पारिएको हो ।

आयोजकहरुकाअनुसार फेस्टिवल आउँदो नोभेम्बर ३० र डिसेम्बर १ मा जापानको राजधानी टोकियोको नाकानो सिकिनोमोरी पार्कमा आयोजना हुनेछ ।  फेस्टिवलको मुख्य उद्देश्य नेपाल र नेपालीलाई जापानमा पहिचान गराउनु, नेपालको पर्यटन प्रवर्द्धन गर्नु, तथा नेपालको कला, संस्कृति, र परम्परालाई प्रवासमा निरन्तरता दिनु हो ।  फेस्टिवलमार्फत नेपाल हाउस निर्माणार्थ सहयोग जुटाउने लक्ष्य पनि राखिएको छ । यो फेस्टिवल नेपाललाई विश्वसामु चिनाउने, र जापानमा रहेका नेपालीहरूलाई ऐक्यबद्धता र अपनत्वको अनुभूति गराउने महत्त्वपूर्ण माध्यम बन्ने विश्वास गरिएको छ ।

फेस्टिवलमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नेपाली कला, भेषभूषा, र संस्कृतिहरूलाई प्रस्तुत गरिने छ । साथै, नेपालको प्रमुख पर्यटकीय स्थलहरूको प्रचारप्रसार गरिनेछ । आयोजकहरूको भनाइमा, नेपाल फेस्टिवलमा जापानी नागरिकहरूलाई नेपाली संस्कृति र पर्यटनबारे जानकारी दिने प्रयास गरिने छ, जसले गर्दा उनीहरूलाई नेपाल भ्रमणका लागि प्रेरित गर्न सकियो भने नेपालको अर्थतन्त्रमा सकारात्मक योगदान पुग्नेछ ।

फेस्टिवलका लागि स्टल बुकिङ खुल्ला गरिएको छ । स्टल व्यवस्थापन उप समितिका संयोजक सचिन श्रेष्ठकाअनुसार यस पटकको फेस्टिवलमा ३७ स्टल रहनेछन्, जसमा १२ वटा फुड स्टल र २५ वटा अन्य व्यावसायिक सेवामूलक स्टलहरू राखिनेछन् । फुड स्टलका लागि प्रति स्टल ४० मान जापानी येन भाडा र ५ मान येन डिपोजिटसहित ४५ मान येन शुल्क निर्धारण गरिएको छ भने अन्य स्टलहरूको लागि १६ मान येन शुल्क तोकिएको छ ।

स्टल बुकिङको लागि नोभेम्बर १० सम्म समयसीमा राखिएको छ, जसमा ‘पहिले आए, पहिले सेवा’को सिद्धान्त लागू हुनेछ । नेपाल फेस्टिवल–२०२४ मा स्टल राख्न इच्छुक व्यक्तिहरूले तोकिएको फाराम भरि भुक्तानीसहित स्टल व्यवस्थापन उप समितिका सदस्यहरूसँग सम्पर्क राख्न सक्नेछन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया