समाचार सुन्नुहोस :
काठमाडौँ – पूर्व सांसद ढाकाकुमार श्रेष्ठलाई लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ। कास्की जिल्ला प्रहरी कार्यालयले उनलाई बिहीबार नियन्त्रणमा लिएको हो। गत साउन ३ मा रोल्पा त्रिवेणी-७ निवासी प्रकाश थापा मगरलाई ९७ चक्की लागुऔषधसहित पोखराको बागलुङ बसपार्कबाट पक्राउ गरिएको थियो। अनुसन्धानका क्रममा मगरले पोखरा-९, पृथ्वीचोकस्थित दीया फार्मेसीबाट उक्त लागुऔषध खरिद गरेको खुलासा गरेपछि फार्मेसीका सञ्चालक श्रेष्ठ पक्राउ परेका हुन्।
पोखरा-२४ निवासी ४२ वर्षीय श्रेष्ठलाई कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनासदीप जिसीले बताए। श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्य बनाइएको थियो तर गत वर्षको ‘टेप काण्ड’पछि उनी पार्टीबाट निष्कासित भएका थिए।