Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

टोकियो – नेपाली ब्यवसायी संघ (NBA) जापान दोस्रो अधिवेशनमा होमिएको छ । अधिवेशन आउने मंगलबार अर्थात सेप्टेम्बर १७ तारिखलाई तय गरिएको छ ।

जसअनुसार अधिवेशनको तैयारीका लागि भन्दै संघको पदाधिकारीहरु दिनहुँजसो बैठकमा जुटिरहेको अध्यक्ष बिजय थकालीले समुद्रपारिलाई बताए ।

जापानमा रहेका नेपाली ब्यवसायीहरुको हकहित एवं अधिकारलाई सुनिश्चित गर्ने, उनीहरुको ब्यवसायिक प्रबर्द्धनका लागि सक्दो सहयोगी भूमिका निर्बाह गर्ने, जापानमा ब्यवसायिक अवसर र संभावनाहरुको खोजी गर्ने र संभावित चुनौतीहरुको संस्थागत ढंगबाट मिलेर समाधान गर्ने मुलभुत उद्देश्यका साथ सन् २०१८ मा स्थापना भएको नेपाली ब्यवसायी संघ जापानको ढिलो गरी अधिवेशन हुन लागेको हो ।

अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व सहित नयाँ कार्यसमिति गठन गर्ने छ भने आगामी कार्यकालका लागि स्पष्ट कार्ययोजना सहित अगाडि बढ्नका लागि नयाँ शिराबाट नयाँ ऊर्जाका साथ नयाँ संकल्प लिईने अध्यक्ष थकालीले जानकारी दिए ।

अधिवेशन नजिकिदैं गर्दा नेतृत्व तथा पदाधिकारीका लागि आकाँक्षीहरुको चासो बढेको छ भने यसैबीच निर्बाचन समितिले आफ्नो निर्वाचन कार्यतालिका र निर्वाचन सम्बन्धि प्रावधान पनि प्रकाशित गरेको छ । निर्वाचन समितिका संयोजक ओम गुरुङद्वारा प्रकाशित सूचना अनुसार १३ सेप्टेम्बर शुक्रबारदेखि १४ सेप्टेम्बर शनिबारको राति १२ बजेसम्म उम्मेदवारी दर्ता समय तोकिएको छ र सोही दिन उम्मेदवारीको नामावली प्रकाशन गरिने कार्यसूची रहेको छ । यसैगरी १५ तारिख आईतबार राति १२ बजेसम्म दाबी बिरोधको समय तोकिएको छ भने १६ तारिख सोमबार राति १२ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने समयसीमा तोकिएको छ । यसैगरी १७ तारिख मंगलबार बिहान १० बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने तालिका रहेको छ । सर्बसम्मत हुन नसकेमा सोही दिनको ३ बजेसम्म गोप्य मतदानबाट निर्वाचन गराईने कार्यसूची रहेको छ ।
निर्वाचन समितिद्वारा प्रकाशित सूचनामा उम्मेदवारी शुल्क पनि तोकिएको छ, जसअनुसार अध्यक्षका लागि ६ मान येन, वरिष्ठ उपाध्यक्ष (१) का लागि ५ मान येन, उपाध्यक्ष (५) का लागि ४ मान येन, महासचिव (१) का लागि ३ मान येन, सचिव (३) का लागि ३ मान येन, कोषाध्यक्ष (१) का लागि ३ मान येन, सहकोषाध्यक्ष (१) का लागि ३ मान येन र सदस्य पदका लागि २ मान येन तोकिएको छ ।

निर्वाचन समितिद्वारा प्रकाशित सूचना अनुसार संघको कुनै पनि पदमा उम्मेदवारी दिनका लागि संघको सदस्यता लिएको र नविकरण गरेको हुनुपर्ने उल्लेख छ । यसैगरी अध्यक्ष पदमा उम्मेदवारी दिनका लागि एक कार्यकाल पूरा पदाधिकारीमा रहेर काम गरेको हुनुपर्ने र अन्य पदाधिकारीमा उम्मेदवारी दिनका लागि एक कार्यकाल पूरा कार्यसमितिमा रहेर काम गरेको हुनुपर्ने प्रावधान राखिएको छ ।
निर्धारित मापदण्ड, शुल्क, मिति र समयसीमा भित्र रहेर उम्मेदवारी दिनुपर्ने अन्यथा मान्य नहुने प्रकाशित सूचनामा जनाईएको छ ।

आसन्न अधिवेशनमा बिधान संशोधन प्रस्ताव, कार्यप्रगति प्रतिबेदन, आर्थिक प्रतिबेदन र भावी कार्ययोजना सम्बन्धि दस्ताबेज पारित गर्ने कार्यसूची रहेको संघका वरिष्ठ उपाध्यक्ष ददिवल खड्काले बताए ।

शिन्ज्युकुस्थित प्रिन्स होटलमा हुने संघको अधिबेशनमा ब्यवसायसंग सम्बन्धित महत्वपूर्ण बिषयमा डेलिगेट्सहरुबीच अन्तरक्रियाको सेसन पनि रहने कार्यबाहक महासचिव बाबुराम पौडेलले जानकारी दिए ।

ब्यग्र प्रतिक्षित अधिबेशनमा टोकियोबाहिर नागोया, ओसाका, फुकुओका, निगाता लगायतका सहरहरुबाट पनि डेलिगेट्सहरुको प्रतिनिधिमुलक सहभागिता रहने उपाध्यक्ष सञ्जिव पोखरेलले बताए ।

उक्त दिनको पहिलो सत्र अपरान्ह ३ बजेबाट बन्द सत्र रहने, त्यसपछि ५ बजेबाट खुल्ला सत्र तथा घोषणा सभा हुने त्यसपछि साँझ मैत्रिपूर्ण रात्रिभोज सहित अन्तरक्रियाको सेसन रहने गरी तैयारी भईरहेको संघका कोषाध्यक्ष नरबहादुर थापाले जानकारी दिए ।

कोभिड-१९ लगायतका कारण देखाउँदै निर्धारित समयभन्दा निकै ढिलोगरी हुन लागेको अधिवेशन नजिकिदै गर्दा अधिवेशनले तय गर्ने योजना, भावी रणनीति र चयन गर्ने नयाँ नेतृत्वसहितको नयाँ टिम लगायतका बिषयमा सर्बसाधारणको ब्यापक चासो बढेको पाईन्छ । एनबिए जापान अधिवेशन पश्चात पूरै पुनर्ताजगी भएर संश्लेषित कलेबरमा जनअपेक्षालाई उचित सम्बोधन गर्ने ऊर्जा सहित प्रकट हुनेमा आफुहरु पूरै बिश्वस्त रहेको संघका पदाधिकारीहरुको दाबी छ ।***

तपाईको प्रतिक्रिया