समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमा ‘अनफलो’ गर्ने क्रम अझै रोकिएको छैन। मंगलबार साँझदेखि ओलीलाई फेसबुकमा अनफलो गर्न सुरु गरिएको थियो। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकहरूले फेसबुकमा ओलीलाई अनफलो गर्न थालेका हुन्। यो घटना आइतबार साँझ बालेन शाहले नेकपा एमाले (लुम्बिनी) प्रदेश सांसद रेखा कुमारी शर्मामाथि बालश्रम शोषणको आरोप लगाउँदै कारबाही नगरेको भन्दै फेसबुकमा स्टाटस पोस्ट गरेपछि सुरु भएको हो।
मंगलबार उक्त स्टाटस बालेनको फेसबुकबाट हटाइएको थियो। जसलाई लिएर उनले सरकारलाई चुनौती दिँदै पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार भनेका थिए। यसपछि बालेनका समर्थकहरूले प्रधानमन्त्री ओलीलाई फेसबुकमा अनफलो गर्न थालेका हुन्। मंगलबार दिउँसो ओलीको फेसबुक पेजमा करिब ६ लाख ६२ हजार फलोअर थिए तर बुधबार दिउँसो, यो समाचार तयार पर्दा सम्म सो संख्या घटेर ५ लाख ९१ हजारमा झरेको छ।
साथै, बालेन शाहले सांसद शर्माविरुद्ध बालबालिकासम्बन्धी कसुरमा जाहेरी दर्ता गराउँदै कारबाहीको माग गरेका छन्। तर, एमाले समर्थित विद्यार्थी नेताहरूले बालेनको दावीलाई झुटो बताउँदै प्रधानमन्त्रीलाई अनुचित रूपमा मुछेको आरोप लगाएका छन्।