समाचार सुन्नुहोस :
काठमाडौँ – हेर्ने कथा बाट चर्चामा आएका भोजपुरका प्रकाश तामाङले सोमबार राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ। प्रकाश लामो समय परिवारबाट हराएका थिए तर हेर्ने कथामार्फत फेला परेपछि आइतबार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका थिए। नागरिकता पाएपछि सोमबार काठमाडौं आएर प्रधानमन्त्रीसँग भेट गर्नुभएको हो।
भोजपुरको षडानन्द नगरपालिका–१० स्थित घरमा प्रकाशलाई दिङ्ला इलाका प्रशासन कार्यालयका प्रमुख विनोद ज्ञवालीले नागरिकता प्रमाणपत्र दिनुभएको थियो। प्रधानमन्त्री ओलीले प्रकाशलाई नागरिकता दिलाउन पहल गर्नुभएको थियो र गृह सचिवलाई पनि यसमा सहयोग गर्न आग्रह गर्नुभएको थियो।
३५ वर्षभन्दा बढी समय हराएका प्रकाशलाई हेर्ने कथाको टिमले परिवारसँग पुनर्मिलन गराएको थियो। प्रधानमन्त्री ओलीले प्रकाशसँगको भेटको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दै खुशी व्यक्त गर्नुभएको छ।