समाचार सुन्नुहोस :
काठमाडौँ – जापानको एक सहरले फुजी हिमालको दृश्यावलोकन गर्ने स्थानमा लगाइएको बार हटाएको छ। फुजी हिमालको बेसमा रहेको फुजिकावागुचिको सहर हिमालको सुन्दर दृश्यावलोकनका लागि प्रसिद्ध छ।
शहरको मुख्य सडकमा रहेको लसन कन्भेनियन्स स्टोरको बार्दलीबाट हिमालको दृश्य अवलोकन गर्न चाहनेहरूको भीड लाग्ने गर्थ्यो। इन्स्टाग्राम र टिकटक जस्ता सामाजिक सञ्जालबाट प्रभावित भएर मानिसहरू यहाँ आउने क्रम बढ्दै थियो। तर, भीड बढेसँगै फोहोर गर्ने, नजिकै रहेका निजी सम्पत्तिमा जबर्जस्ती पस्ने र छतमा चढ्ने जस्ता असभ्य व्यवहारहरू देखिन थालेपछि स्थानीयहरूले असन्तोष व्यक्त गर्दै मे महिनामा फुजिकावागुचिको सहरले दृश्यावलोकन स्थलमा ठूलो कालो जाली ठड्याएको थियो। जाली लगाइएपछि त्यहाँ आउनेहरूको संख्या निकै घटेको थियो।
तर, अगष्ट १५ मा अधिकारीहरूले बिना कुनै ठूला घोषणा सो बार हटाएका छन्। सुरुमा यो कदमलाई शक्तिशाली आँधीको कारण अस्थायी रूपमा गरिएको भनिएको थियो । फुजिकावागुचिकोका अधिकारीहरूले हाललाई जाली पुनः ठड्याउने कुनै योजना नरहेको बताएका छन्। यद्यपि, सुरक्षा व्यवस्था कडा पारेर सो स्थानको निगरानी गरिनेछ र यदि स्थिति नियन्त्रण बाहिर गयो भने मात्र जाली पुनः ठड्याउन सकिने सहरका एक काउन्सिलरले बताएका छन्।