Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024

टोकियो – टोकियोमा १४ औं नेपाल फेस्टिबल-२०२४ आयोजना हुने भएको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान र नेपाली राजदूतावास टोकियोको आयोजना तथा विभिन्न संघसंस्थाहरुको सहआयोजनामा आगामी नोभेम्बर ३० र डिसेम्बर १ गरी दुई दिन १४ औं नेपाल फेस्टिबल हुने भएको हो ।

टोकियोको नाकानो सिकिनोमोरी पार्कमा उक्त फेस्टिवलको आयोजना गरिएको एनआरएनए जापानका अध्यक्ष समेत रहेका फेस्टिवल मुल आयोजक समितिका संयोजक नविन निउरेले जानकारी दिए । नेपाल र नेपालीको जापानमा पहिचान, नेपालको पर्यटन प्रवर्द्धधन, नेपालको कला सँस्कृति रीतिरिवाज र परम्परालाई प्रवासमा पनि निरन्तरता दिनुका साथै खास गरेर नेपाल हाउस बहुसाँस्कृतिक केन्द्रको निर्माणार्थ सहयोग जुटाउने उद्देश्यले विगतदेखि गरिँदै आएको नेपाल फेस्टिवल यस वर्ष पनि गरिन लागेको अध्यक्ष निउरेले बताए ।’नेपाली कला र सँस्कृतिलाई विश्वसामु चिनाउने र प्रवासमा रहेका नेपालीहरुबीचको एकता र अपनत्वलाई उजागर गर्न यो फेस्टिवल कोसेढुंगा साबित हुनेछ भन्ने विश्वास लिएका छौं ।’ – अध्यक्ष निउरेले भने ।

यसैगरी नेपाल फेस्टिवलका उपसंयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष सुवास लामिछानेले यस वर्षको नेपाल फेस्टिवल विगतका नेपाल फेस्टिवल भन्दा केही पृथक र नयाँपन दिने गरी तयारीमा जुटेको बताए ।पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सँस्कृतिमा आधारित कुमारी, भाक्पा, कौरा, तामाङ सेलो, थारु लगायतका हाम्रा साँस्कृतिक महत्व बोकेका नाचहरू फेस्टिबलमा प्रस्तुत गरिनुका साथै नेपाली कला सँस्कृति, भेषभूषा र रितिरिवाजलाई जापानी समुदायमा समेत पुर्‍याई नेपालको पर्यटन प्रवर्द्धधनमा टेवा पुर्‍याउन फेस्टिबल फलदायी हुने उपसंयोजक लामिछानेको भनाई छ ।

नेपाल फेस्टिवललाई प्रभावकारी बनाउनका लागि हालै आयोजना गरिएको अन्तरक्रियात्मक बैठकमा सहभागीहरुले प्रवासमा रहेको दोस्रो पुस्ताका नेपालीहरुलाई नेपालसंग जोड्नका लगि फेष्टिबललाई कडीकोरुपमा विकास गरिनुपर्नेमा जोड दिएका थिए । फेस्टिवलमा जातीय पहिचानका मौलिक झाँकीलाई व्यवस्थित गरिनुपर्ने, जापानी नागरिकको उपस्थितिसहित जापान सरकारका उच्च पदस्थ व्यक्तिको सहभागितामा जोड दिनुपर्ने, नेपाल सरकारको प्रत्यक्ष देखिने गरि सहभागिताका लागि समन्वय गरिनुपर्ने, नेपालको तराई, पहाड, हिमालको विविधतालाई जोड्न सक्नुपर्ने, नेपालको पर्यटन प्रवर्द्धधन र नेपालको मौलिक पहिचानलाई केन्द्रमा राखेर नेपाल हाउस निर्माणमा सहयोग पुग्ने गरी नेपाल फेष्टिवल आयोजना गरिनुपर्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिएका थिए ।

नेपाल फेष्टिवलको आयोजनाका सन्दर्भमा सबैको अस्तित्वलाई स्वीकार गरी अपनत्व हुने गरी आयोजना गरिनुपर्ने, स्टलको व्यवस्थापन गर्दा खानाको विविधता हुने गरी गरिनुपर्ने, अनुशासनलाई विशेष ख्याल गरिनुपर्ने लगायतका महत्वपूर्ण सुझावहरु प्राप्त भएको एनआरएन जापानले जनाएको छ ।

अन्तरक्रियात्मक बैठकमा नेपाल फेष्टिवल सम्पन्न गर्नका लागि जापानमा रहेका संघसंस्था, ब्यवसायी, बुद्धिजीवी तथा सञ्चारकर्मीहरुले आ-आफ्नो तर्फबाट सक्दो सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।
फेस्टिबल सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु बनाई कार्यबिभाजन समेत गरिएको छ । एनआरएनए जापानका महासचिव समेत रहेका नेपाल फेस्टिवल- २०२४ आयोजक समितिका सदस्य-सचिव टिकाराम खरेलका अनुसार फेस्टिबल आयोजक समितिको संयोजकमा नविन निउरे, उपसंयोजकद्वयमा सुवास लामिछाने र योशीहारु कोमियामा, सदस्यसचिवमा टिकाराम खरेल, कोष तथा लेखा व्यवस्थापन दिपक सुनार र प्रवक्ता खगराज गौतमलाई जिम्मेवारी तोकिएको छ भने स्टल व्यवस्थापन उपसमितिको संयोजकमा उपाध्यक्ष सचिन श्रेष्ठ, प्रचारप्रसार उपसमितिको संयोजकमा देवराज उप्रेती, आर्थिक संयोजन उपसमितिको संयोजकमा कृष्ण शर्मा गैरे, साँस्कृतिक कार्यक्रम तथा झाँकी व्यवस्थापन उपसमितिको संयोजकमा उपाध्यक्ष सिध्दार्थ श्रेष्ठ, जापानी सरकारी, संघसंस्था समन्वय उपसमितिको संयोजकमा कमल बास्तोला, सुरक्षा तथा स्वयम् सेवक परिचालन उपसमितिको संयोजकमा कान्तो संयोजक सागर कार्की, अतिथि सत्कार उपसमितिको संयोजकमा अञ्जु भण्डारी, डकुमेन्ट्री तथा फोटो प्रदर्शनी उपसमितिको संयोजकमा डा. एलिजा केसी भण्डारी र प्रमुख संरक्षकमा शिवप्रसाद पौडेललाई जिम्मेवारी तोकिएको छ ।
जापानमा हुने नेपाल फेस्टिबलमा नेपालीहरुका साथै जापानी नागरिकहरुको अत्यधिक सहभागिता रहनेगरी तैयारी गरिनुपर्ने यहाँका प्रबुद्ध नेपालीहरुको धारणा रहँदै आएको छ । यसैगरी अघिल्ला वर्षहरुमा चर्को गर्मी मौसममा फेस्टिबलको आयोजना गरिएको भन्दै आलोचना हुँदै आएकोमा यसबर्ष भने नोवेम्बर ३० र डिसेम्बरको १ मा हुने खबरले नेपालीहरुमा उत्साहको सञ्चार हुने अपेक्षा गरिएको छ।***

तपाईको प्रतिक्रिया