Deneme Bonusu Veren Siteler
आइतबार, पौष १४, २०८१
Sunday, December 29, 2024

काठमाडौं – पछिल्लो एक दशकमा उच्च शिक्षाका लागि विदेश जान शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखाबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी)लिनेको संख्या तीन सय प्रतिशतले बढेको छ ।

एक दशकअघि अर्थात् आर्थिक वर्ष २०७०र७१ मा उच्च शिक्षाका लागि विभिन्न देश जान मन्त्रालयको उक्त शाखाबाट २८ हजार एक सय २६ वटा एनओसी जारी भएकामा गत आव २०८०र८१ मा ६६ वटा देशका लागि एक लाख १२ हजार दुई सय ५६ वटा एनओसी जारी भएका छन् ।

प्रत्येक वर्ष एनओसी लिनेको सङ्ख्यासँगै शिक्षाका नाममा विदेशिने रकम पनि बढिरहेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार पछिल्लो १० वर्षमा उच्च शिक्षाका नाममा रु पाँच खर्ब १८ अर्ब ७३ करोड बाहिरिएको छ ।

विदेशमा पढ्न जाने विद्यार्थीहरुलाई मुद्रा सटहीका लागि एनओसी लिन्छन् । विदेशमा पढ्का लागि लाग्ने शुल्कका आधारमा एनओसी गर्दै आएको छ । एनओसीका आधारमा विद्यार्थीले बैङ्किङ प्रणालीमार्फत विदेशस्थित कलेज तथा विश्वविद्यालयमा शुल्क पढाउँछन् । यसरी बैङ्कमार्फत रकम पढाउँदा उनीहरुले तीन प्रतिशत शिक्षा सेवा शुल्क बुझाउनुपर्छ ।फेरिएको गन्तव्य
झन्डै एक दशकयता नेपाली विद्यार्थीको पहिलो रोजाइको गन्तव्य बनेको अष्ट्रेलिया गत आर्थिक वर्षमा भने तेस्रो स्थानमा सीमित भएको छ । अष्ट्रेलिया जान चाहने विद्यार्थी कम हुँदै गर्दा विद्यार्थीको ठूलो हिस्साको आकर्षणमा जापान परेको छ । अघिल्लो आव २०७९/८० मा कुल जारी भएका एनओसीमध्ये ३०.७७ प्रतिशत अष्ट्रेलियाका लागि रहेकामा गत आवमा यो सङ्ख्या १२.८० प्रतिशतमा सीमित भएको छ ।

अघिल्लो आवमा १९.२८ प्रतिशतले जापान जानका लागि एनओसी लिएकामा यो सङ्ख्या गत आवमा बढेर ३०.९३ प्रतिशत पुगेर नेपाली विद्यार्थीको पहिलो रोजाइको गन्तव्य बनेको छ ।

अघिल्लो आवमा प्रमुख रोजाइको गन्तव्यमा तेस्रो स्थानमा रहेको क्यानडा गत आवमा दोस्रो स्थानमा उक्लिएको छ तर एनओसी लिनेको सङ्ख्या भने कम भएको छ । क्यानडा जानका लागि अघिल्लो आवमा १९.५४ प्रतिशतले एनओसी लिएकामा यो सङ्ख्या गत आवमा १४.२३ प्रतिशतमा सीमित रह्यो ।

अष्ट्रेलिया सरकारले लिएको नीतिका कारण त्यहाँ जाने नेपाली विद्यार्थीको सङ्ख्या कम भएको नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)का अध्यक्ष शेषराज भट्टराईको बुझाइ छ । तथ्याङ्कअनुसार गत आवमा उच्च शिक्षाका लागि कतार र युनाइटेड अरब इमिरेट्स (युएई) जान चाहने विद्यार्थीको सङ्ख्या पनि उल्लेखनीय छ । गत आवमा शिक्षा मन्त्रालयबाट कतारका लागि एक सय ६५ र युएईका लागि दुई हजार एक सय ४७ वटा एनओसी जारी भएका छन् ।दक्षिण कोरिया पनि प्राथमिकतामा
पछिल्लो समय दक्षिण कोरियामा पनि उच्च शिक्षाका लागि विदेशी विद्यार्थीको आकर्षण बढेको छ । शिक्षा मन्त्रालयका अनुसार गत आवमा मात्रै कोरियामा अध्ययन गर्न जानका लागि छ हजार आठ सय ८९ वटा एनओसी जारी भएका छन् । कोरियाले नै सन् २०२७ सम्ममा विदेशी विद्यार्थीको सङ्ख्या तीन लाख पु-याउने लक्ष्य लिएको छ । यसअनुसार पछिल्लो समय दक्षिण कोरिया नेपाल मात्रै नभई अन्य देशका विद्यार्थीका लागि रोजाइको गन्तव्य बन्दै गएको छ ।

कोरिया शैक्षिक परामर्श सङ्घ, नेपाल (केइक्यान)का अध्यक्ष गणेश शर्मा दक्षिण कोरियामा गुणस्तरीय शिक्षा सस्तोमा पढ्न पाइने भएकाले नेपाली विद्यार्थीको आकर्षण बढेको बताउँछन् ।

उनका अनुसार अष्ट्रेलियालगायत देशको तुलनामा कोरियामा निकै सस्तोमा विश्वविद्यालयमा अध्ययन गर्न पाइन्छ । ‘दक्षिण कोरियामा अष्ट्रेलिया र बेलालयतलगायत देशको तुलनामा ८० प्रतिशतभन्दा बढी सस्तो शुल्कमा उच्च शिक्षा पढ्न पाउने सुविधा छ,’ अध्यक्ष शर्माले भने, ‘छ महिनामध्ये तीन महिना आंशिक र तीन महिना पूर्णरुपमा काम गर्न पाउने भएकाले पनि विद्यार्थीको आकर्षण बढेको छ ।’

हाल कोरिया सरकारले अध्ययन पूरा भएपछि छ महिनासम्म जागिर खोज्नका लागि अनुमति दिन्छ । जसलाई दुई वर्षसम्म बढाउने सकिने व्यवस्था छ । साथै सन् २०२५ देखि भने पढाइ पूरा भएपछि तीन वर्षसम्म कोरियामै रहेर काम खोज्न पाउने सुविधा थप गर्ने योजनामा त्यहाँको सरकार छ ।किन घट्यो अष्ट्रेलिया ?
नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)का अध्यक्ष शेषराज भट्टराई अष्ट्रेलियाले भिसामा कडाइ गरेकाले त्यहाँ जाने विद्यार्थीहरुको सङ्ख्या कम भएको बताउँछन् । उनका अनुसार त्यहाँको माइग्रेसन नीति, भिसामा कडाइ र आर्थिक दबाबका कारण विद्यार्थीहरुको सङ्ख्या घट्दो रहेको हो ।

अष्ट्रेलियन सरकारले कलेज तथा विश्वविद्यालयमा विदेशी विद्यार्थीका लागि ४० प्रतिशतको सीमा तोक्न लागेको छ । जसअनुसार शिक्षण संस्थाले वर्षमा अधिकतम् ४० प्रतिशतभन्दा बढी भर्ना गर्न पाउने छैनन् । यसले त्यहाँको श्रम बजारमा ठूलो असर पार्ने देखिएको छ । त्यसैले गर्दा अहिले अष्ट्रेलियामो यो चर्चाको विषय बनेको छ ।

अष्ट्रेलिया सरकारले वेबसाइटमा उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार हाल ५६ हजार दुई ९६ जना नेपाली विद्यार्थी भिसामा अष्ट्रेलियामा अध्ययन गरिरहेका छन् । यसमध्ये सबैभन्दा धेरै ३५ हजार आठ सय ९७ जना विद्यार्थी न्यू साउथ वेल्स राज्य र भिक्टोरिया राज्य सात हजार नौ सय १३ जना विद्यार्थी छन् । उत्तरी क्षेत्रमा भने विदेशी विद्यार्थीमा नेपालीको सङ्ख्या सबैभन्दा बढी अर्थात् एक हजार एक सय १५ छ ।

अष्ट्रेलियामा सबैभन्दा बढी चिनियाँ विद्यार्थीहरु एक लाख ५० हजार सात सय ६७ र भारतीय विद्यार्थी एक लाख १६ हजार छ सय १० विद्यार्थी अध्ययनरत छन् । सङ्ख्याका हिसाबले नेपालीहरुको तेस्रो स्थनामा छन् । त्यसबाहेक फिलिपिन्स, भियतनाम, कोलम्बिया, थाइल्यान्ड, पाकिस्तान, इन्डोनेसिया र ब्राजिलका विद्यार्थी क्रमशः शीर्ष १० मा छन् ।

तपाईको प्रतिक्रिया