Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

काठमाडौं – रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका-१० सेजेका ३० वर्षीय दीपक ओलीको अमेरिकामा हत्या भएको छ । अमेरिकाको टेक्सासमा आइतबार बिहान बन्धुकधारी लुटेरा समूहको आक्रमणबाट ओलीको हत्या भएको हो ।

मृतकका माइला बुवा खिमबहादुर ओलीले दीपक काम गर्ने टेक्सासको वेको सिटी नजिक हाइवे ३५ को एक्जिट ३४६ मा रहेको ग्याँस स्टेसनमा गोली हानेर हत्या गरिएको खबर पाएको बताए । टेक्सासमै रहनुभएका सेजे गाउँका विवेक ओली मार्फत घरमा खबर आएको उनले जनाए । आइतबार बिहान करिब ५ बजेतिर बन्दुकधारी लुटेराहरूले गोली प्रहार गरेर हत्या गरेको र शव पोस्ट मार्टमको लागि अस्पताल लगिएको बुझिएको छ ।

दीपकको हत्याको खबरपछि गाउँ नै शोकाकुल बनेको छ । बाँफिकोट गाउँपालिकाका अध्यक्ष जनककुमार बाँठा मगरले दीपकको हत्याको खबर सुनेपछि आफन्त, परिवारजन र गाउँ नै शोकमा रहेको बताए । । दीपकको घरमा बुवा, आमा, श्रीमती, छोरी र दुई भाइ छन् । एक बहिनीको विवाह भइसकेको छ भने एक भाइ दिनेश वैदेशिक रोजगारीको सिलसिलामा कोरिया गएका छन् । कान्छो भाइ जनक अध्ययनको क्रममा काठमाडौँमा छन् ।

मृतककी २६ वर्षीया श्रीमती विमला बुढाथोकी ओली भने ५ वर्षीया छोरी पढाउन दाङको तुलसीपुर बस्छन् । गाउँमा बाख्रापालन गर्दै आउनुभएका मृतक दीपकका ५६ वर्षीय बुवा लिलाराम ओली अहिले अचेत अवस्थामा छन् । घरमा सम्झाई बुझाई गर्ने अवस्था समेत छैन । सबैतिर सन्नाटा छाएको छ ।

खिमबहादुरका अनुसार दीपक एक वर्षअघि मात्र अमेरिका पुगेका थिए । सन् २०२३ को जुलाई महिनामा अमेरिका पुग्नुभएका दीपक अवैध बाटो (तल्लो बाटो) अमेरिका पुगेका हुन् । अमेरिकाको सपना पछ्याउँदै अवैध बाटो अमेरिका पुगेका दीपकको सपना भने विलीन भएको छ । सपनाको देशले दीपकको परिवारको सारा सपना टुटाइदिएको छ ।

दीपकले २०७९ मङ्सिरमा घर छोडेर हिँडेका थिए । अमेरिका पुग्ने क्रममा बाटोमै करिब डेढ वर्ष र ८० लाख रुपियाँ खर्च भएको खिमबहादुरले जानकारी दिए । ‘‘बल्ल कमाउन थालेको थियो, लुटेराले हत्या गरिदिए,’ उनले भने ।

परिवारको थाप्लोमा अहिले दीपकलाई अमेरिका पठाउँदा लागेको ऋणको बोझ छ । छोराको मृत्युपछि विक्षिप्त बनेका दाइलाई छोरो पठाउँदा लगेको ऋणको भारी कसरी चुक्ता गर्ने भन्ने अर्को पिर थपिएको उनको भनाई छ । परिवारका अनुसार अमेरिका जाँदा लागेको ८० लाख रुपियाँ ऋणमध्ये आधा मात्रै तिरिएको छ । -गोरखापत्र दैनिकबाट

तपाईको प्रतिक्रिया