आइतबार, आषाढ १६, २०८१
Sunday, June 30, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौं महानगरपालिकाको नगरसभा बैठक आज बिहान ८ बजे बस्ने तय भए पनि बैठक बस्दै नबसी स्थगित भएको छ। यस बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्ने तयारी थियो। तर, मेयर बालेन शाहको अनुपस्थितिका कारण बैठक स्थगित भएको हो। वडाध्यक्ष भरतलाल श्रेष्ठका अनुसार मेयर शाहले फेसबुकमा स्टाटस राखेर बैठक स्थगित भएको जानकारी दिएका थिए। उनले नगरसभा सदस्यहरूसँग भेट नगरी बैठक स्थगित गरेको आरोप पनि लगाए।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले भने तयारी नपुगेकाले बैठक स्थगित भएको र अर्को बैठक मेयरको अनुकूलतामा बोलाइने बताएका छन्। तर, मेयर बालेनले फेसबुकमा कांग्रेस र एमालेले बैठक रोकेको आरोप लगाएका छन्। उनका अनुसार कांग्रेस र एमालेले बीपी कोइराला र मदन भण्डारीको नाममा करोडौंको कार्यक्रम माग गरेका थिए तर आफूले चार स्वतन्त्र सेनानी शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको नाममा गरौं भनेको उल्लेख गरेका छन्।

सोमबारको नगरसभा बैठकमा चार दलका जनप्रतिनिधिले नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव गरे पनि बालेनले स्वीकार गरेका थिएनन्। नीति तथा कार्यक्रम पारित नगरीकनै बजेट प्रस्तुत गरिएको थियो।

तपाईको प्रतिक्रिया