बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

टोकियो – देवमान हिराचन जापानमा मात्र नभएर डायस्पोरिक नेपाली समुदायमा चिनाईरहनुपर्ने नौलो नाम हैन । शालिन ब्यक्तित्व, मृदुभाषी, कम बोल्ने, तिब्र इच्छाशक्ति र कर्ममा बिश्वास गर्ने हिराचनका विशेषता हुन् । आइसीसीका पूर्व अध्यक्ष समेत रहेका पहिलो पुस्ताका एनआरएन अभियान्ता र उद्यमी नाम हो हिराचन । उसो त अचेल उनी जापानमा कुनै पनि सार्बजनिक कार्यक्रमहरुमा भेटिदैंनन् । समाजले उनलाई नसम्झेको हो या उनैले समाजलाई नखोजेका हुन् यो भने सोधीखोजीको बिषय हुनसक्छ । उसो त समाजबाट बिस्तारै ओझेल पर्दै गएका हिराचन मात्र एक्ला भने हैनन्, उनीजस्ता जापानका लब्धप्रतिष्ठित नेपाली अनुहारहरुको लामै सूची छ । उनी भन्छन् -‘समयको रफ्तारसंगै पुरानाले बिर्से, नयाँले चिन्दैनन् आफ्ना रुचीहरु पनि फेरिदैं गए । यस्तो बेलामा आफ्नै काममा ब्यस्त हुँदा नै खुशी मिल्दोरहेछ ।’

हिराचनसंग ४ दशकभन्दा लामो जापान बसाईको अनुभव छ । ज्यान कर्मभूमिमा भएता पनि मन भने सँधै जन्मभूमितिरै गईरहने बताउने हिराचन अहिले आफ्नै ब्यवसायमा ब्यस्त रहेको बताउँछन् । जापानमा रहेको आसुका जेम्स र नेपालमा रहेको जिसीआई कम्पनी मार्फत उनले नेपालमा विभिन्न ब्यवसायिक गतिबिधिहरु गर्दै आईरहेका छन् । हिराचनले कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, फाइनान्स, निर्माण, आइटी लगायतका क्षेत्रमा लगानी गरेर हजारौं नेपालीलाई रोजगारी दिएका छन् । कृषिमा आधुनिकीकरण गर्दै अबको १० वर्षभित्र नेपाललाई अर्गानिक देश बनाउने उनको महत्वाकांक्षी लक्ष्य छ । सोहीअनुरुप देशका विभिन्न ठाउँमा र खासगरी गण्डकी प्रदेशमा कृषिमा आधुनिकीकरण र अर्गानिक उत्पादनमा उनको जोड छ । यसै सन्दर्भमा तिसौ हजार अगुवा कृषकलाई कृषिमा आधुनिकीकरण प्रशिक्षण दिईसकिएको उनले बताए ।

एनआरएन आइसीसीका संस्थापक समेत रहेका हिराचन एनआरएनभित्रको विवाद र पछिल्लो सर्बोच्चको फैसलापछि शेष घलेको संयोजकत्वमा बनेको विवाद समाधान समितिमा पनि छन् । ६ महिनाभित्र अर्को महाधिवेशन गरी एनआरएनको विवाद सल्टाउने जिम्मेवारी पाएको समिति समस्या समाधानका लागि सरोकारवला सबै पक्षसंग तिब्र छलफलमा जुटिरहेको उनी बताउँछन् । संयोजक घलेसंग नियमित सम्पर्कमा रही आफुले पाएको जिम्मेवारी पूरा गर्न निरन्तर लागिपरेको भएता पनि अपेक्षित परिणाम हासिल हुन नसकेको उनले बताए । उनले भने- ‘सर्बोच्चको फैसला समेत अवज्ञा गर्दै समाधानतिर भन्दा विवाद चर्काउनेतिर केही ब्यक्तिहरु लागिपरेका छन्, तर हामी निराश छैनौ, हाम्रो प्रयास जारी छ, मिलेर जानुको विकल्प छैन ।’

आफु आफ्नै काममा ब्यस्त रहेपनि हिराचन जापानको नेपाली सोसाइटीका गतिविधिहरु पनि नजिकबाट नियाल्दै आईरहेको बताउँछन् । उनी भन्छन्- ‘नेपाली कम्युनिटी दिनप्रतिदिन ठूलो हुँदै गईरहेको छ, संघसंस्थाहरुको संख्या पनि बढ्दोक्रममा छन् । कार्यक्रमहरुमा जान थाल्यो भने त्यसैमा मात्र भ्याइ-नभ्याई हुन्छ । कसैकोमा जाने कसैकोमा नजाने गरेर पनि भएन । त्यसकारण पनि बाहिर निस्कन गाह्रो छ ।’

‘अहिले नेपाली सोसाइटीमा के देखिन्छ भने कसैले कसैको कुरो सुन्न तयार छैनन्, एकप्रकारले भन्नुपर्दा सोसाइटी नियन्त्रणभन्दा बाहिर जस्तै देखिन्छ । सिनियर, जुनियर र रेस्पेक्ट भन्ने कुरो अलि हराउँदै जान थालेको आभाष हुन थालेको छ ।’ – हिराचन अगाडि भन्छन्- ‘हामी कर्मभूमिमा छौं भन्ने कुरो भुल्नुभएन, जापानको जीवनशैली र सिष्टमलाई पालना गर्‍यौं भने अहिले एकपछि अर्को आउने गरेका नेपालीहरुका नकारात्मक समाचारहरु कम हुँदै जाने अपेक्षा गर्न सकिन्छ ।’
‘बिदेशमा रहँदा सबैभन्दा पहिले हामी नेपाली हौं भन्ने भावना सँधैंभरि मनमा लिईराख्यौं भने नेपाली एकता, मेलामिलाप र भाइचारा अभिबृद्धि हुनुका साथै नेपाली समाज स्वतः समृद्ध हुन्छ ।’ हिराचन थप्छन् -‘त्यसकारण त हामीले एनआरएनको अवधारणा अगाडि सारेका थियौं, तर के गर्नु अभियानले ट्रयाक छोड्दै गएपछि अहिले सम्हालिनसक्नुको स्थितिमा पुगेको छ, दुख लाग्छ ।’

मुस्ताङको मध्यम वर्गिय थकाली परिवारमा जन्मेका हिराचनलाई स्वदेशमै केही गर्ने हुटहुटीले सँधै सताउने गरेको बताउँछन् । जापानमा हासिल गरेको ज्ञान, सीप, अनुभव, दक्षता र पूँजीलाई नेपालमै लगानी गर्दै आईरहेका उनले अब छिट्टै नेपाल फर्केर अझ सक्रिय भएर देशका लागि काम गर्ने बताए ।

चालिसौं बसन्त जापानमा छिचोलेका हिराचनले जीवनको उत्तरार्धका योजना सुनाउँदै अगाडि भन्छन् – ‘अब स्वदेश नै फर्कने हो । बिदेश त हाम्रो अस्थायी मुकाम हो । मलाई नेपालकै दालभात प्यारो लाग्छ । नेपालको हावापानी राम्रो लाग्छ अनि नेपाली गीत नै सुन्न मन पर्छ । बाँकी जीवन नेपालमै बितद्वाउन चाहान्छु ।’ ***

तपाईको प्रतिक्रिया