बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

यो वर्ष प्रदर्शनको ५१औँ दिन पूरा गर्ने दोस्रो चलचित्र ‘बोक्सीको घर’ बनेको छ । काठमाडौँस्थित रञ्जना सिनेप्लेक्समा प्रदर्शनको ५१ औँ दिन पूरा गरिरहँदा चलचित्रले व्यावसायिक रूपमा पनि सफलता प्राप्त गरेको हो ।

निर्माण पक्षले दश करोड हाराहारीमा चलचित्रले कूल व्यापार (ग्रस कलेक्सन) गरेको बताएका छन् । यो अभिनेत्री केकी अधिकारीको पहिलो सर्वाधिक सफल चलचित्रसमेत बनेको छ । सयौँ साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) मा अभिनय गरेपछि डेढदशक अगाडि अधिकारी ‘स्वर’ चलचित्रमार्फत अभिनेत्रीको रूपमा ठूलो पर्दामा आएकी थिइन् । स्वर चलचित्रमा उनी बाहेक प्रायः नयाँ कलाकार भएकीले दर्शकलाई चलचित्र भवनसम्म ल्याउने श्रेय उनीलाई गयो ।

निरन्तर चलचित्र क्षेत्रमा व्यस्त अभिनेत्री अधिकारीले दुई वर्ष अगाडि चलचित्र ‘बोक्सीको घर’ मा अभिनय गर्न अडिसन दिएको बताइन् । उनीले भूमिका निर्वाह गर्न सक्ने वा नसक्ने भन्ने थाहा पाउन निर्देशक सुलक्षण भारतीले क्यामेरा अगाडि अभिनय गर्न लगाएका थिए ।

‘मलाई त्यो भूमिका निर्वाह गर्नुथियो । मैले गरिरहेको काम भन्दा फरक भएकाले मैले नयाँ कलाकार जस्तै अभिनय सिकेर, अडिसन दिएर काम गरेकी हुँ’, अभिनेत्री अधिकारीले भनिन् । डेढ दशकपछि अडिसन दिनुको कारण उनीलाई उक्त पात्र निर्वाह गर्दा देखाउन सकिने कलाकारिता र चलचित्रले उठान गरेको विषय थियो ।

कोरोना महामारी अगाडि उनीले मण्डला नाटकघरमा नै ‘बोक्सीको घर’ नामक नाटक हेरिन् । नाटक हेरेपछि शीर्ष भूमिका निर्वाह गरेकी सरिता गिरी र निर्देशक भारतीलाई बधाई दिएको उनीले स्मरण गरिन् ।

गम्भीर विषयलाई मनोरञ्जनात्मक प्रस्तुति दिन सकिन्छ भन्ने लागेकाले कोरोना महामारीको बन्दाबन्दीमा पनि अभिनेत्री अधिकारीले ‘बोक्सीको घर’ चलचित्र बनाउने सोच बनाएको बताइन् ।

पहिलो निर्मित चलचित्र भारतीयको नक्कल रहेको आरोप खेपेकी अभिनेत्री अधिकारीले यसपटक मौलिकसँगै सामाजिक विषयलाई पर्दामा ल्याउने अठोट गरिन् । ‘मैले यो कथालाई बढीभन्दा बढी दर्शकलाई देखाउनु पर्छ भनेर बनाउने प्रस्ताव लिएर निर्देशक भेटेँ । उनीले सुरुमा अस्वीकार गरिन्, मैले निरन्तर प्रयास गरेर सहमत गराएँ’, उनीले भनिन् ।

उनी आफूलाई उक्त पात्रमा तयार गर्ने श्रेय निर्देशक भारतीलाई दिन्छिन् । उनीले चलचित्र सुरु हुनुअघि छ महिना प्रशिक्षण लिइन् । ‘यो पात्रलाई बाँच्नु थियो । त्यसैले मैले दैनिक बिहान ५ बजेदेखि ८ बजेसम्म उक्त पात्रबारे कार्यशाला (वर्कशप) गर्थे । महिलाको यो कथालाई अगाडि ल्याउनु थियो । मलाई उक्त पात्रमा तयार गर्न निर्देशकले निकै मेहनत गर्नुभएको छ’, अभिनेत्री अधिकारीले भनिन् ।

प्राय नेपाली चलचित्रमा अभिनेत्रीलाई अभिनेताका लागि मात्र राखिने गरेकोबारे उनी अवगत छिन् । उनीले पनि यस्तै भूमिका निर्वाह गर्दै आएकी छन् । अभिनेत्रीले निर्माण गर्ने चलचित्रले महिला सशक्तीकरणको विषयसँगै मौलिक कथालाई अगाडि ल्याउनु पर्छ भन्नेमा उनी स्पष्ट थिइन् ।

‘धेरै चलचित्रमा अभिनेत्रीले परनिर्भर भूमिका निभाएका छन् । सायद, पुरुष हिरो हुँदा चलचित्र चल्छ भन्ने मान्यता पनि होला । त्यहीकारण पनि यसपटक चलचित्रमा अधिकांश मुख्य पात्र महिला नै राख्यौँ’, अभिनेत्री अधिकारीले भनिन्, ‘कमै नाटकलाई चलचित्र बनाइने गरिन्छ । नाटकघरमा नाटक मञ्चन हुँदा व्यावसायिक दबाब कम हुन्छ । चलचित्र भवनमा आउँदा लागत बढ्ने भएकाले बजारलाई ध्यान दिनु अत्यावश्यक हुन्छ ।’

कोरोना महामारी पश्चात् नाटकबाट चलचित्र बनेको ‘पानीफोटो’ र ‘डिग्री माइला’लाई दर्शकले साथ दिए पनि ‘बोक्सीको घर’ भने चलचित्रको भाषामा ‘ब्लकबष्टर’ नै भएको अधिकारीको भनाइ छ ।

तपाईको प्रतिक्रिया