मंगलबार, आषाढ ०४, २०८१
Tuesday, June 18, 2024

काठमाडौं – नवौँ संस्करणको आइसिसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले नेपाललाई १ सय १६ रनको लक्ष्य दिएको छ । सेन्ट भिन्सेन्टको अर्नोस भेल ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १५ रन बनायो ।

उसका लागि ओपनिङ ब्याटर रीजा हेन्ड्रिक्सले ४९ बलमा एक छक्का र पाँचौं चौकासहित सर्वाधिक ४३ रन बनाए । यस्तै, ट्रिस्टन स्टब्सले अविजित २७, कप्तान एडन मार्कमले १५ र क्विन्टन डिककले १० रन जोडे । नेपालका लागि अलराउन्डर कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गरे ।भुर्तेलले ४

ओभरमा १९ रन दिएर महत्वपूर्ण चार विकेट लिए । उनले कप्तान एडन मार्कम, हेनरिक क्लासेन, मार्को यान्सन र कागिसो रबाडाको विकेट लिएका हुन् । यस्तै, दीपेन्द्रलेले ४ ओभरमा २१ रन दिएर महत्वपूर्ण तीन विकेट लिए । उनले कप्तान एडन मार्कम, रीजा हेन्ड्रिक्स र डेविड मिलरको विकेट हात पारेका हुन् ।

नेपालले पहिलो विकेट ३.४ ओभरमा लिएको थियो । नेपाललाई पहिलो सफलता अलराउन्डर दीपेन्द्र सिंह ऐरीले दिलाए । उनले आक्रामक ब्याटर क्विन्टन डिककलाई १० रनमा पवेलियन फर्काए ।

नेपाल र दक्षिण अफ्रिका सिनियर क्रिकेटमा पहिलोपटक एकअर्काको सामना गरिरहेका हुन् । नेपालले दक्षिण अफ्रिकासँग उमेर समूहको क्रिकेटमा भने प्रतिस्पर्धा गरिसकेको छ ।

यू–१९ विश्वकपमा नेपालले दुईपटक दक्षिण अफ्रिकालाई हराएको रेकर्ड पनि छ । नेपाल अब सिनियर क्रिकेटमा पनि दक्षिण अफ्रिकालाई हराउँदै इतिहास रच्न चाहन्छ । यद्यपि उच्च लयमा रहेको दक्षिण अफ्रिकालाई हराउन सहज छैन ।

ऊ एक खेलअगावै सुपर आठमा पुगिसकेको छ । दक्षिण अफ्रिकाले जारी विश्वकपमा श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्सलाई हराइसकेको छ । अब ऊ नेपाललाई पनि हराउँदै अपराजित सुपर आठ चरण खेल्न चाहन्छ ।

नेपाल भने दक्षिण अफ्रिकालाई स्तब्ध पार्दै सुपर आठ सम्भावना जीवित राख्न चाहन्छ । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटको हार बेहो-यो । दोस्रो खेलमा वर्षाका कारण श्रीलंकासँग अंक बाँडेको नेपाल अहिले तालिकाको चौथो स्थानमा छ ।

तपाईको प्रतिक्रिया