बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडौं – तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका पूर्वअध्यक्ष राजेश श्रेष्ठसहितको समूहले दुई अर्ब ११ करोड रुपैयाँभन्दा बढी रकम कमसल धितोमा दिएको खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानका क्रममा यस्तो तथ्य खुलेको हो ।

कमसल धितोमा बढी ऋण प्रवाह गरेको पाइएपछि उनीसहित ९ जनालाई सीआईबी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरका श्रेष्ठसहित दैलेखका सुनीलकुमार न्यौपाने, ललितपुरका प्रा. डा. गीता प्रधान, सिरहाका रमेशकुमार निरौला, भोजपुरकै रणबहादुर श्रेष्ठ, काठमाडौंका राजेशकुमार दली, चितवनका उमाकुमारी श्रेष्ठ, मोरङका शिवगोपाल रिसाल र अभिषेक बज्राचार्य छन् ।

बज्राचार्य तत्कालीन सेन्चुरी कमर्सियल बैंकका सञ्चालक समिति सदस्य थिए ।  राजेश श्रेष्ठ बैंक सञ्चालक समितिको अध्यक्ष हुँदा शिवगोपालबाहेक सबै सदस्य थिए । शिवगोपाल भने बैंकको निक्षेप संकलन प्रमुख थिए । उनीहरूलाई सोमबार ललितपुर र काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको सीआईबीले जानकारी गराएको छ ।

रवीन्द्र चौलागाईंले सञ्चालन गरेको देउराली सहकारी र उनकै विभिन्न कम्पनीलाई कमसल धितोका आधारमा बैंकबाट कर्जा प्रवाह गरी घोटाला गरिएको खुलेको सीआईबीले जनाएको छ ।

सोही प्रकरणमा गएको फागुन १५ गते तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने र बैंकका अर्का कर्मचारी तुलसी गौतमलाई सीआईबी टोलीले पक्राउ गरेको थियो । न्यौपाने र गौतम पक्राउको दुई हप्तापछि जिल्ला सरकारी वकिल कार्यालयमा बयान सकिएपछि हाजिरी जमानीमा छुटेका थिए ।

हाल हाल सेञ्चुरी बैंक प्रभु बैंकमा गाभिइसकेको छ । देउराली सहकारीलाई सरकारले संकटग्रस्त घोषणा गरेको छ । सहकारीका अध्यक्ष चौलागाईं हाल पुर्पक्षका निम्ति जेलमा छन् ।

तपाईको प्रतिक्रिया