काठमाडौं – सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएको तीन दिन दिनपछि सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
बिहीबार बिहान ८ बजे आफ्नै घरको भर्याङमा उनी झुण्डिएको अवस्थामा मृत भेटिएको भक्तपुर प्रहरीले जानकारी दिएको छ । विशेष अदालतले जेठ ८ गते पोखरेललाई दोषी ठहर गर्दै ६ महिना कैद तथा ५ करोड ८४ लाख ५५ हजार एक सय ५९ रूपैयाँ जरिवाना र सो बराबरको बिगो रकम असुलको फैसला सुनाएको थियो ।
५७ वर्षीय पोखरेल वन तथा वातावरण मन्त्रालयमा उपसचिवस्तरमा कार्यरत रहेका बेला गत वर्ष निलम्बनमा परेका थिए । प्रहरीका अनुसार घटनास्थलबाट सुसाइड नोट फेला परेको छ जसको प्रारम्भिक अनुसन्धानमा प्रहरीले पोखरेलले आत्महत्या गरेको हुन सक्ने अनुमान छ । उक्त नोटमा पोखरेलले अन्य कसैलाई दोष नदिएको जनाइएको छ ।