आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

नेपालको समृद्धिमा योगदान गर्न भनेर खुलेको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए)का अगुवाहरू कुर्सीका लागि नग्न परेड खेलिरहेका छन् । काठमाडौंमा सम्पन्न ११औँ महाधिवेशन चरम विवादग्रस्त बन्यो, जुन अहिलेसम्म सुल्झेको छैन । निर्वाचनमा धाँधली भएको जिकिर गर्दै अध्यक्षका प्रत्याशी आरके शर्मा र महेश श्रेष्ठले नतिजा स्वीकार गरेनन् । जसका कारण निर्वाचनपछि एनआरएनएमा एक पक्षले अर्को पक्षलाई स्वीकार नगर्ने अवस्था बनेको छ । यतिसम्मकी कात्तिक ४ मा डा. बद्री केसीले अध्यक्षको शपथ लिएपनि उनको नेतृत्व अस्वीकार गर्दै आरके शर्माको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा गरियो । शर्माले आफू आधिकारिक अध्यक्ष भएको दाबी गर्दै आएका छन् भने विवाद बढ्दो क्रममा रहेको देखिन्छ । एनआरएनएमा विवाद बढिरहेको बेला नयाँ कार्यसमितिका अध्यक्ष आरके शर्मासँग संस्थामा देखिएको विवाद र अबको निकासका विषयमा केन्द्रित रहेर समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंश :-

गैरआवासीय नेपाली संघको अध्यक्ष को हो ?
गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा धेरै त्रुटि देखिए । म व्यक्ति विशेषलाई आक्षेप लगाउन चाहन्न तर, पेलेर जान चाहनेहरूका कारण नयाँ परिस्थिति उत्पन्न भएको हो । बन्दसत्र लगायतका प्रक्रिया पूरा नगरीकन ११औँ महाधिवेशनको निर्वाचनमा धेरै कुराहरूको त्रुटि थिए त्यो छानबिन गरेरमात्र अगाडि बढ्ने भन्ने सहमति तोडेर पूर्व अध्यक्ष डा. बद्री केसीले जसरी जबरजस्ती शपथ खानुभयो त्यो कुराले गर्दा म महेश जीलगायत सम्पूर्ण गैरआवासीय नेपालीहरूले अब यो प्रक्रिया तीन जना अध्यक्षको सहमति बेगर भएका हर्कत दुईजना अध्यक्षको सहमतिमा सच्याउने भनेर प्रक्रिया सुचारुपछि बन्दसत्र, विधान संशोधन, प्रतिवेदन पास गरेपछि अध्यक्ष मण्डलको टोलीले मलाई चयन गरेको हो । तसर्थ अहिलेको आधिकारिक अध्यक्ष म हुँ ।

जेसुकै भए पनि निर्वाचनमा गएपछि त परिणामलाई स्वीकार गर्नुपर्ने सबैभन्दा आधारभूत कुरा होइन र ? यो वा त्यो बहाना गरेर परिणाम मान्दिन भन्नु प्रजातान्त्रिक संस्कार हुन्छ ?
होइन मेरो लडाइँलाई यसरी नबुझ्दिनुस् । मलाई कुनै पद पनि चाहिएको होइन, संस्थाभित्र रहेको विकृतिलाई निमिट्यान्न पार्न लागि, कसैले कसैलाई पेलेर कर्नरिङ गर्नु हुँदैन सबैको साझा बनाउनुपर्छ भन्ने मेरो लडाइँ हो । स्मरणीय कुरा त, १०औँ महाधिवेशनमा राजनीतिक रूपमा पेलेर जान चाहने र कानुनी व्यवस्था देखाउँदै एनआरएनएलाई आफ्नो खल्तीमा राख्ने लडाइँ चलेको थियो । यसो भएपछि संस्था नफुटोस् भनेर तीन जना अध्यक्षसहितको अध्यक्षमण्डल बनाएका थियौँ । ११औँ महाधिवेशनसम्म आइपुग्दा आफ्नो कार्यकाल स्वर्णिम रहेको भन्दै स्वघोषणा गर्नुभयो । कार्यकाल स्वर्णिम बनेको भए २० वर्षदेखि सम्हालेको नेतृत्व फेरि किन सम्हाल्न चाहनुभयो ? दोस्रो विषय, अध्यक्षका प्रत्याशीले र निर्वाचन समितिले समेत निर्वाचन त्रुटिपूर्ण भएको स्वीकार गरेपछि पनि दुई हप्ताको अनुसन्धानपछि आउने प्रतिवेदन मान्ने भद्र सहमति १० घण्टासमेत टिकेन । बलजफती रूपमा मतदाताको व्यक्तिगत गोपनीयता भङ्ग गराइएको स्थिति छ । र यो लडाइँ डा. बद्री केसीको टिमले म र महेश जीको टिमलाई पेलेरै दम्भ देखाएर अघिबढेपछि त्यसको बाइप्रडक्ट सर्वसम्मत तवरबाट कार्यसमिति चयन भएको हो ।यो निर्वाचनमा धाँधली भएको यहाँहरूको निष्कर्ष छ । यसलाई पुष्टि गर्ने प्रमाण तपाईँसँग के छन् ?
निर्वाचनमा त्रुटि भएको हो भन्ने हाम्रो निष्कर्ष हो । धेरै बुँदाहरूले अलरेडी तपाईँहरू सामु स्पष्ट पारेको छ । मैले सधैँ भन्ने गरेको छु, अमेरिकामा बस्ने विश्व बराल ज्यु नेपालमा हुनुहुन्थ्यो तर उहाँका नाममा अमेरिकाबाट कसैले भोट हालिदियो । कतारमा रहेका टिका कार्कीको नाममा नेपालबाट भोट हालिदियो । बेल्जियम कि अध्यक्ष सीता सापकोटाको फोटो अर्कैको राखेर उहाँ भोट हाल्नबाट वञ्चित हुनैलाग्दा ठूलो लफडापछि उहाँले भोट हाल्ने वातावरण मिल्यो । सँगसँगै कतिमा फेस आइडी मिलेनन् भनेर त ५७/५८ जनालाई समय गुज्रियो भनेर भोट हाल्न दिइएन । तसर्थ धेरै आधारहरू छन् यो निर्वाचन त्रुटिपूर्ण छ । मैले यसमा अझ अर्को कुरा जोड्न चाहेँ- अधिवेशन भएको स्थान सोल्टी होटलबाट ८ वडा ल्याप्टपबाट भोटिङ भएको हो तर पछि मेले सुनेको छु धेरै ल्याप्टपबाट फिजिकल भोट भए । अनुपस्थित व्यक्तिको नाममा पनि मतदान भए । अन्य मतदाताको नाममा गरिएको फर्जी मतदान धाँधली होइन ? यी लगायत धेरै कुराहरूले निर्वाचनको प्रक्रिया पुगेको छैन । अब यसलाई धाँधली भन्नु हुन्छ कि त्रुटिपूर्ण भन्नुहुन्छ निर्वाचन प्रक्रिया सही छैन ।

त्रुटि भएको भए त्यसलाई प्रमाणसहित सार्वजनिक गरेर कानूनी उपचारमा गएको भए हुन्थ्यो होला । तपाईँले त त्यसैको बहानामा अर्को कमिटी बनाउनुभएको छ । तपाईँले बनाएको कमिटी कसरी वैध हुन्छ ?
दुईवटा कुरा क्लीयर्ली बुझ्नुपर्ने के छ भने कानूनी हिसाबमा बन्द सत्र सुचारु नगरीकन र पुरानो कार्यसमिति भङ्ग नगरीकन नयाँले शपथग्रहण गर्न मिल्दैन । एउटा प्रधानमन्त्रीको पद भङ्ग नभईकन अर्को प्रधानमन्त्रीले शपथ खाएको देख्नुभएको छ ? म धेरै कानून बुझ्दिनँ, तर एउटा लेम्यानको हिसाबले यति चाहिँ बुझ्छु । तीनजना अध्यक्षले स्थगित गरेको कार्यक्रम सुरु पनि नगरीकन भ्याकुम टाइममा शपथ खान मिल्थेन ।

अब गैरआवासीय नेपालले कुन एनआरएनएलाई वैद्य मान्ने त ? नेपालको सरकारले कसलाई मान्यता दिने ?
मेरो योजना के हो भने, शेष घले दाइको टीममा जुन विनोद कुँवरको नेतृत्व पनि हामीसँग छिट्टै संयुक्तरूपमा आउँदै हुनुहुन्छ । डा. बद्री केसीज्यूको कार्यसमितिलाई सँगै ल्याएर इलेक्सनमा लैजाने मेरो योजना छ । इलेक्सन अर्को गराउनुको विकल्प छैन ।

उहाँले कसैलाई पनि नगनेर दम्भ नदेखाएर जबरजस्ती शपथ खाएर एउटा गल्तीमाथि अर्को गल्ती गरेर अघि बढ्नु भएको छ, त्यो आम विदेशमा रहेका नेपाली र नेपालमा रहेका नेपालीहरूको विश्वास जित्नका लागि आजको विकल्प भनेको पुनःनिर्वाचन हो ।

भनेपछि फेरि महाधिवेशन गर्नुपर्‍यो ?
सबैभन्दा पहिला त मैले सधैँ सबैलाई अनुरोध गरिरहेको कुरा के हो भन्दा- एनआरएनएमा १०औँ महाधिवेशनदेखि विश्वासको खडेरी लागेको छ । नेतृत्वको होडबाजी र एउटाले अर्कोको अस्तित्व स्विकार्न नसक्ने, सानो घेरामा मात्र संस्था राख्ने सबैको साझा चौतारी बनाउन नचाहनेहरू र हामीहरू सबैको साझा हुनुपर्छ, सबैलाई समावेशी गराएर लानुपर्छ भन्ने पक्षबीचको लडाइँ तपाईँहरू सबैले बुझ्नु भएको छ नै । र अहिलेको यो विषम परिस्थितिमा जसरी डा. बद्री केसीले २० अक्टोबरमा जुन सम्झौता भएको थियो त्यो स्थानमा बसेर छानबिन गराउनु भएको भए । कुनै गल्ती नभएको भए, त्रुटि नभएको भए हामीहरू सबै उहाँलाई माला गराएर बधाई दिन्थ्यौँ । उहाँको कार्यकाललाई सहयोग गथ्र्याैं तर उहाँले कसैलाई पनि नगनेर दम्भ नदेखाएर जबरजस्ती शपथ खाएर एउटा गल्तीमाथि अर्को गल्ती गरेर अघि बढ्नु भएको छ, त्यो आम विदेशमा रहेका नेपाली र नेपालमा रहेका नेपालीहरूको विश्वास जित्नका लागि आजको विकल्प भनेको पुनःनिर्वाचन हो । त्यो पनि स्वच्छ तरिकाले नेपालको सम्मानित निर्वाचन आयोगको प्रतिनिधि वा नेपाल सरकारको प्रतिनिधि खटाएर निष्पक्ष निर्वाचन गर्नु नै हो भन्ने मेरा ठम्याइ छ ।

पदका लागि एनआरएनएलाई टुक्राटुक्रा बनाइन्छ भने ‘नेपालका लागि नेपाली’ भन्ने अभियानको जग कति बलियो धरातलमा उभिएको रहेछ भन्ने प्रष्ट भयो नि !
मेरो चाहना भनेको गैरआवासीय नेपाली संघ सबैको साझा हुनुपर्छ भन्ने हो । त्योभन्दा एक कदम अघि बढेर मध्यपूर्व मलेसियाबाट ७० प्रतिशत रेमिट्यान्स पठाउनुहुन्छ उहाँकाहरुको पनि अपनत्व हुनुपर्छ भन्ने मेरो लडाइँ हो । आज जुन किसिमको पेलाई छ, जहाँ एक हजार जना पनि नेपाली बस्नुहुन्न । त्यहाँकै साथीहरूको मेरो घेराभित्रै रहनुपर्छ भनेर नेतृत्व लिइराख्नु भएको छ यस्तो प्रवृत्तिले संस्था धेरै टाढासम्म पुग्दैन । संस्था भावनाको हिसाबले पनि जोडिनुपर्छ भन्ने भनाई हो । एनआरएनएमा रि-कन्टन्सन, रि-फर्म गर्न जरुरी छ । रि-फर्मका लागि आ-आफ्ना ठाउँबाट सबै इमान्दार भएर उभियौँ भने एनआरएनएको जुन विश्वास र भरोसा १३-१५, १५-१७ को कार्यकाल थियो त्यो स्तरमा पुग्छ । यसमा दुई मत छैन ।सबैको अन्तिम स्वार्थ पद नै त रहेछ, पदबाहेक अरू सबै तपसिलका पनि तपसिल रहेछन् भन्ने कुरो तपाईँहरूको बखेडाले पुष्टि ग-यो होइन ?
म विनम्र अनुरोध के गर्न चाहन्छु भने, मेरा लडाइँ पदका लागि होइन । पेलान गरेर जसरी संस्थालाई आफ्ना खल्तीको बनाउन प्रवृत्ति छ त्यसकाविरुद्ध मेरो अभियान हो । मलाई पद चाहिएका छैन, रि-इलेक्सन भनेको छु । डा. बद्री केसीलाई मसँग चुनाव लड्न गाह्रो हुन्छ भने त्यो ठाउँमा म नहुन पनि सक्छु । तर आम जनतामा एउटा अविश्वासका बादल छाइसकेपछि यो संस्थाप्रति विश्वास दिलाउने सबैको जिम्मेवारी हो । पदभन्दा पद्धति राम्रो हुनुपर्छ र कानुनको बोटल मेकिङमात्र होइन भावनाले पनि सबैले सबैलाई समेटेर यो गैरआवासीय संघ अघि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो ।

साँघुरो घेरामा राख्दैगयौं भने गैरआवासीय नेपाली संघ केही साथीभाइको होला र कुनै सम्मानित पार्टीले परिचालन गर्ने दायित्व होला तर हामीहरू धेरै लामो दुरी पुग्नसक्दैनौं । एनआरएनएलाई शुद्धीकरण गर्नको लागि सबैलाई आ-आफ्नो ठाउँबाट पहल गरिदिन विनम्र अनुरोध गर्न चाहन्छु

नेपालका दलहरू र नेतालाई राजनीतिक संस्कार सिकाउन खोज्ने तपाईँहरू नै यसरी कुर्सीको लडाइँमा लिप्त हुँदा एनआरएनको छवि बर्बाद भएन ?
यो कुर्सीको लडाइँ होइन । आमजनतामा उठेको शंकाको कुरालाई क्लियर गर्नुपर्छ भन्ने मेरो लडाइँ हो । कुर्सीको लडाइँ त अध्यक्ष बद्री केसीले गरिरहनुभएको छ । १८ महिना अध्यक्ष भइसकेपछि पनि छोड्न नचाहने, कुर्सीको मोह त मैले भन्दा उहाँले धेरै देखाइरहनुभएको छ भनेर बुझिदिन अनुरोध गर्छु । कुर्सीको लडाइँको कुरा उहाँलाई नै सोध्नुस् भन्न चाहेँ ।

अन्यमा जापानसहित विश्वभर रहेको नेपालीहरूलाई के भन्नुहुन्छ ?
सबै विश्वभर छरिएर रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई यो विषम परिस्थितिमा मैले मेरो लडाइँ सायद सबैलाई बुझाउन सकेको छैन होला । हाम्रो लडाइँ भनेको संस्था बलियो बनाउन, जुन रोग अहिले लागेको त्यसलाई बेलैमा उपचार गरेर संस्था बलियो र नेपालका लागि नेपाली र समृद्ध नेपाल निर्माणका लागि सबैको बलियो साझेदारी होस् भन्ने मेरो लडाइँ हो । यस्तै किसिमले साँघुरो घेरामा राख्दैगयौं भने गैरआवासीय नेपाली संघ केही साथीभाइको होला र कुनै सम्मानित पार्टीले परिचालन गर्ने दायित्व होला तर हामीहरू धेरै लामो दुरी पुग्नसक्दैनौं । एनआरएनएलाई शुद्धीकरण गर्नको लागि सबैलाई आ-आफ्नो ठाउँबाट पहल गरिदिन विनम्र अनुरोध गर्न चाहन्छु । यो संस्था समृद्ध नेपाल निर्माण गर्नको लागि हामीहरूले सिकेको ज्ञान, सीप र कमाएको पुँजीलाई सही सदुपयोग गर्ने दिशातिर लाग्नुपर्छ । ताकि कुन कसरी ? कसले कुन टिमलाई पेलेर सानो एउटा घेरामा राखेर फेरि अर्को वर्ष को अध्यक्ष बन्छ भन्नेतिर ध्यान केन्द्रित हुँदै गएपछि हामीहरू धेरै टाढा पुग्न सक्दैनौँ । तसर्थ तपाईँहरू सबैले खबरदारी गर्दिनुस् । यो संस्था विश्वमा रहेका ७० लाख नेपालीहरूको आस्थाको धरोहर हो । यो आस्थाको धरोहरलाई डगमगाउन दिनुभएन र लागेको रोगलाई पनि निर्मूल गर्नका लागि सबैले आ-आफ्ना ठाउँबाट भूमिका खेल्नका लागि आग्रह गर्न चाहन्छु ।

तपाईको प्रतिक्रिया