Deneme Bonusu Veren Siteler
सोमबार, साउन ०७, २०८१
Monday, July 22, 2024

कमलमणि नेपाल ‘खुपीका बाउ’को मोरङबाट काठमाडौं आउँदा कलाकार बन्ने सपना थिएन । उनी ०५४ सालतिर ‘टाइपराइटिङ’ सिक्न काठमाडौं आएको थिए तर, उनका पाइला अर्कैतिर मोडिए । राष्ट्रिय नाचघरबाट अभिनयको कक्षा सुरु गर्दा उनलाई वीरेन्द्र हमाल, सुनील पोखरेललगायतले अभिनय सिकाए । त्यही चिनजानले कमलमणिलाई गुरुकुलसम्म पु-यायो । अहिले उनी थियटर, फिल्म र सानो पर्दा सबैतिर छाउन सफल छन् । अभिनयबाट निर्देशकसम्मको यात्रा तय गरेका यिनै खुपीका बाउसँग रंगमञ्च र चलचित्रमा आधारित रहेर समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंश :-

आफूलाई अभिनयमा रुचि रहेछ भन्ने कहिले थाहा पाउनुभयो ?
म गाउँमा हुँदा सानैदेखि क्यारिकरेचरतिर रुचि थियो । फ्याट्टफुट्ट मधेसी भाषाको बोलाइमा क्यारिकरेचर गर्ने गर्थेँ । सबैले रुचाइदिनु हुन्थ्यो । यो आजभन्दा २७ वर्ष अगाडिको कुरा हो । त्यही क्रममा एक दिन आरोहण गुरुकुल विराटनगरको समूह स्वास्थ्य सम्बन्धी नाटक लिएर गाउँमा आयो । नाटक मञ्चन हुनुअघि, उनीहरूले आफ्नो कलाकार तयार नभएसम्म कसैले केही गर्न चाहनुहुन्छ कि भनेर सोधे । त्यति बेला मैले एक मधेसी लबजमा क्यारिकेचर गरेर दर्शकलाई होल्ड गरेको थिएँ । उनीहरूले त्यसलाई मनपराएका थिए । त्यसबेला नाट्यकर्मीबाट पनि थुप्रै स्याबासी र सकारात्मक प्रतिक्रिया पाउँदा अभिनयमा केही गर्न सक्छु कि भन्ने भयो । दसैँको बेला राती दस बजेसम्म सांस्कृतिक कार्यक्रम हेर्ने चलन थियो । मैले त्यहाँ पनि एउटा नाटक मञ्चन गरे । बिस्तारै अर्को गाउँले पनि हाम्रोमा पनि गर्दिनु न भन्न थालेपछि आफूलाई सफल भएँ भन्ने लाग्न थाल्यो । यी यस्तै कुराहरूले उत्प्रेरणा मिलेपछि अनि साँच्चै गर्न सक्ने रहेछु भन्ने भएपछि म काठमाडौँ आएँ । काठमाडौँ आएर नाटक सिकिसकेपछि त झनै हौसला बढ्यो ।

अभिनय नै गर्छु भनेर काठमाडौँ आउनु भएको थियो कि ! 
खासमा काठमाडौँ त कम्प्युटर सिक्छु भनेर आएको थिएँ । एसएलसी पछाडि मेजर नेपाली लिएर प्लस टु चाहिँ मोरङमै गरे । तर एउटा ब्याक लागेको थियो । त्यसलाई तीँ छोडेर काठमाडौँमा आएपछि बानेश्वर क्याम्पसमा भर्ना भएँ । ब्याचलर आरआर क्याम्पसमा पढ्दै अभिनय सिक्न थालिसकेको थिएँ । अनि नाचघरमा वीरेन्द्र हमाल सरसँग एक वर्षको प्रशिक्षण लिएपछि अनि अभिनयकै क्रममा आरोहण गुरुकुलसँग जोडिएर नाटक गर्न थालेपछि पढाइ छुट्दै गयो । एक्टिङकै सिलसिलामा मेरो भेट रंगकर्मी सुनिल पोखरेलसँग भयो । त्यसपछि गुरुकुलमा जोडिन पुगेँ र निरन्तर १२ वर्ष काम गरेँ । त्यस क्रममा झन्डै दुई दर्जन नाटकमा अभिनय गरेँ होला । गुरुकुल बन्द भएपछि हास्य टेलिसिरियल ‘भद्रगोल’मा छिरियो । ‘भद्रगोल’बाट ‘खुपीका बाउ’ भनेर दर्शकले चिन्न थाले । त्यसपछि कमलमणि हरायो । पछिल्लो समय ‘खुपीका बाउ’ एउटा ठाउँमा छ तर कमलमणि पनि छ है भनेर नेपाली चलचित्रमा काम गर्छु । अहिले ‘सक्किगोनी’मा काम गरिरहेको छु, यसका साथै निर्देशनको अनुभव पनि बटुल्दै छु ।अभिनयको पहिलो चरणतिरको कुनै नाटक छ ? जसलाई अहिले सम्झिँदा ओहो मैले त्यस्तो पो गरेको थिएँ है भन्ने लागोस् । 
मैले ‘अझै केही गर्न बाँकी छ’ नाटकमा एउटा तराइवासीको चरित्र गरेको थिएँ । त्यो काठमाडौँ आएपछि मञ्चमा गरेको पहिलो नाटक थियो । त्यसलाई गर्ने क्रममा मलाई नाट्यशिल्पको हिसाबले धेरै सिक्न बाँकी रहेछ भन्ने थाहा भयो । मैले त केही सिकेको रहेनछु भन्ने लाग्यो । सम्झिने नाटकको कुरा गर्दा मलाई ‘सोराठी’ नाटक याद आउँछ । जसमा मैले माझीको चरित्र गरेको थिएँ । ऊ कान नसुन्ने पात्र थियो । नाटक सकिएपछि हरिहर शर्मा सरले दिएको स्याबासी म कहिल्यै बिर्सिन्नँ । त्यसले झन् नाटकलाई मेरो नशा जस्तो बनाइदियो । गुरुकुलको नाटक सम्झिनुपर्दा भने म सञ्जीव उप्रेतीको ‘घनचक्कर’ सम्झिन्छु, जसको म मुख्य पात्र थिएँ । ‘ताराबाजी लै लै’ नाटकले मलाई बाल्यकालमा पु-याएको थियो । फर्किएर हेर्दा फरक–फरक खालका नाटकहरूले फरक–फरक खालका अनुभूति दिएछन् । सम्झिँदा रमाइलो लाग्छ ।

तपाईँले नाटक, टेलिश्रृंखलादेखि चलचित्रसम्म सबै विधामा हात हाल्नु भएको छ । कुन विधामा आफूलाई बढी भिजेको पाउनु भयो ?
नाटकलाई नै प्रिय मान्छु । एकहिसाबले हेर्ने हो भने मेरो धरातल नै नाटक हो । म नाटकबाटै उठेको मान्छे हुँ । धेरै दुःख गरेर । झन्डै १२÷१३ वर्ष नामविहीन भएर । नाटक गरिरहँदा जति जनाले हेर्न आउँथे, उनीहरूले बाहेक अरू कसैले पनि हामीलाई चिन्दैनथे । त्यो भएर मेरो जननी त नाटक नै हो नि । मैले अभिनय सिकेकै नाटकबाट हो, त्यो कारणले पनि यसलाई विशेष स्थानमा राखेको हुँ । नामका हिसाबमा मलाई चिनाउने काम टेलिश्रृंखलाले ग¥यो । मैले ‘तितो सत्य’ देखि सुरु गरेको हुँ । त्यहाँबाट सुरु भएर ‘सक्किगोनि’सम्म आउँदा धेरैले मलाई चिन्न थाल्नुभयो । १२ वर्षसम्म नाटक गरेर नपाएको चर्चा यता पाएँ । त्यो टेलिभिजनको पर्दाले दियो । चलचित्रमा फरक–फरक किसिमको पात्र गर्न पाइन्छ, त्यो बेग्लै मज्जा लाग्छ । यो तीन वटै विधा फरक र रोमाञ्चक छ । तर मलाई विशेष भने जहिल्यै नाटक नै लाग्छ ।

यतिका समय अभिनय गर्नुभयो । खासमा अभिनय के रहेछ जस्तो लाग्छ ?
अभिनय जीवनको अभ्यास हो । म चाहिँ त्यसरी लिन्छु किनभने मैले गर्ने अभिनय त मैले भोगेकै जीवनसँग सम्बन्धित हो । कतिपय कुराहरू विसंगति पनि हुन्छ जुन बिम्बात्मक रूपमा देखाइन्छ । त्यसको भावभंगी फरक हुन्छ । तर यथार्थवादी नाटकमा त जे देखेको हो, जे भोगेको हो, त्यही देखाउने त हो । त्यसरी हेर्दा मञ्चमा अभिनय गर्नु भनेको जीवन बाँच्नु हो ।

आफूले अभिनय गर्नु र अरूलाई गराउनुमा के भिन्नता पाउनुभयो ?
अरूलाई गराउँदा अपेक्षा अलिक बढी गरिँदो रहेछ । आफूले त यो गर्न सक्छु भन्ने छ नि त । मैले काम गरेको हिसाबले पनि सत्ताइसौँ वर्ष भइसक्यो । यतिका वर्षको अनुभवले के गर्दा ठिक के गर्दा बेठिक छुट्टाउन सक्ने भइएछ । सिक्ने क्रम जारी छ, सिकी नै राखेको छु । तर आफूले जति गर्न सक्छु अरूले त्यति नै गर्देहुन्थ्यो जस्तो लाग्छ । तर सधैँ त्यस्तो नहुने रहेछ । यो मेरो पछिल्लो सिकाइ हो ।

निर्देशन चाहिँ के रहेछ ?
निर्देशन अलिक गाह्रो कुरा रहेछ । मैले निर्देशन गर्छु भनेर कहिल्यै योजना बनाएको थिइनँ । सुरुमै भनेँ नि म अभिनयमा जति सक्षम छु, निर्देशनमा त्यति नै सक्षम छु भन्ने आँट थिएन मलाई । तर जब विजय बराल भाइले मलाई, ‘दाइ एउटा नयाँ कलाकारसँग नाटक गर्नु छ, तपाईँले गर्नुप¥यो, केही पारिश्रमिक पनि छ, गर्नुहुन्छ ?’ भन्नुभयो, मैले नाइँ भन्न सकिन । बाँच्नु पनि त प¥यो नि हैन ? त्यसैले पारिश्रमिक पाए कमलमणि नेपालले अभिनय मात्रै नभई निर्देशन पनि गर्छ है भनेर चिनिन्छ भनेर यो नयाँ क्षेत्रमा लाग्ने निर्णय गरेँ । ‘कोराघाट’बाट निर्देशन यात्रामा आएँ । पहिलो पट त्यसमाथि नयाँ कलाकारसँग काम गरेको हुनाले निक्कै गाह्रो भयो । आफूले अभिनय गर्नु जस्तो सहज अरूलाई गराउनुमा नहुने रहेछ । मैले आफूले आफैँलाई मूल्यांकन गर्दा अझै अब्बल निर्देशक बनिसकेको छैन भनेर स्वीकार गरेको छु । अझै सिक्दै छु । अब गर्ने अर्को नाटक चाहिँ अलि राम्रो गर्छु कि !फेरि अभिनयकै प्रश्न । तपाईँमाथि एकै खाले साइडरोल अनि उस्तैउस्तै लाग्ने हास्यव्यंग्य गर्ने कलाकार भन्ने टाइप कास्ट छ । मुख्य भूमिका गर्न पाए हुन्थ्यो जस्तो लागेन ?
एउटा अभिनेताको लागि टाइप कास्ट एकदमै खतरनाक हो । मैले गरेको कुनै पात्र हाबी भयो भने सक्कियो । त्यही भएर म मेहनत गर्छु । जस्तै ‘खुपीका बाउ’ बनेर मैले गरेको चरित्र दर्शकको मनमा यस्तरी गडेर बस्यो कि दर्शकले कमलमणिलाई त्यो चरित्रबाहेक अरू चरित्रमा देख्नै चाहँदैनन् । तर त्यो क्यारेक्टर त कमलमणि नेपालले निभाएको हो नि भन्ने कुरा दर्शकले बुझ्नुहुन्न । त्यसैले म त्यो पात्रलाई मेरो फिल्म र नाटकमा नलाने प्रयास गर्छु । यदि मैले अर्को फिल्ममा नेगेटिभ क्यारेक्टर खेलेँ भने दर्शकले यो रोल कमलले भन्दापनि खुपीका बाउले खेलेको हुन् भन्ने सोच्नुहुन्छ । त्यही नहोस् भनेर मेहनत गरिरहन्छु । र मेहनत जारी छ । मुख्य भूमिकाको कुरामा भने यदि राम्रो मौका मिले गर्न सक्छु भन्ने आत्मविश्वास छ । तर अहिलेसम्म त्यस्तो अफर नआएको हुनाले नगरेको हो । राम्रो रोल आएमा पक्कै गर्नेछु ।

धेरैले कमलमणिलाई विभिन्न पात्रको रूपमा हेर्छन् तर कमलमणिलाई तपाईँ आफू कसरी वर्णन गर्नुहुन्छ ?
कमलमणि एउटा रंगकर्मी हो, जसले आफूलाई मन लागेको काम गर्छ । म विगतमा पनि धेरै ठुलो सपना बोकेर आएको मान्छे हैन । नाटक गर्न आएको बेला फिल्म खेल्ने कुरा मेरो कल्पनामा थिएन । म नाटकमा अभिनय गर्न आएको थिएँ । तर बाँच्नका लागि फिल्म गरेको हो । बाँच्नको लागि सिरियल गरेको हो । कमलमणि त्यही रंगकर्मी हो, जसमा अझै पनि नाटकको भोक छ ।

अन्त्यमा तपाईँले आफ्नो इन्स्टाग्रामको बायोमा ‘हामी रमाइलोसँग काम गर्छौ तर, कामसँग रमाइलो गर्दैनौँ’ राख्नुभएको छ । त्यसले के भन्न खोजेको हो ?
जब हामी काम गर्छौँ, हामी कामसँग रमाइलो गर्दैनौँ । यदि कामसँग रमाइलो गरियो भने काम बिग्रिन्छ । बरु हामी काम सकिएपछि रमाइलो गर्छौँ भन्न खोजेको हो ।

तपाईको प्रतिक्रिया