आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – इन्स्टाग्रामको एप थ्रेड्सले सार्वजनिक भएको सात घण्टामै एक करोड बढी प्रयोगकर्ता पाएर इन्टरनेटमै नयाँ रेकर्ड राखेको छ । बिहीबारदेखि औपचारिक रूपमा सुरु भएको थ्रेड्सले सात घण्टामै उक्त कराेडको आँकडा पार गरेकाे हाे ।

यसअघि गत नोभेम्बरमा च्याटजीपीटीले सार्वजनिक भएको पाँच दिनमै १० लाख प्रयोगकर्ता पाएर कम समयमा १० लाख प्रयोगकर्ताको रेकर्ड राखेको थियो । थ्रेड्सले भने सात घण्टामै एक करोड बढी प्रयोगकर्ता पाएर नयाँ रेकर्ड राखेको हाे ।

थ्रेड ल्याउने एप इन्स्टाग्रामलाई पनि १० लाख प्रयोगकर्ता पार गर्न साढे दुई महिना लागेको थियो । ६ अक्टोबर २०१० मा सार्वजनिक भएको इन्स्टाग्राम त्यो बेला कम समयमा १० लाख प्रयोगकर्ताको आँकडा पार गर्ने प्लेटफर्म बनेको थियो ।

त्यस्तै म्युजिक स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाईलाई दश लाख प्रयोगकर्ताको आँकडा पार गर्न पाँच महिना लगाएको थियो । यता फेसबुकले १० महिना, ट्वीटरले दुई वर्ष, नेटफ्लिक्सले साढे तीन वर्षमा दश लाख प्रयोगकर्ताको आँकडा पार गरेका थिए ।

के हो थ्रेड्स ?

इन्स्टाग्रामको टिमले तयार पारेको थ्रेड्स ट्वीटर जस्तै अक्षरमा आधारित एप हो, जसमा प्रयोगकर्ताले ५०० क्यारेक्टरसम्म लामा पोस्ट गर्न सक्छन् । बिहीबार औपचारिक रुपमा सार्वजनिक भएको थ्रेड्सले ट्वीटरलाई अहिलेसम्मकै सबैभन्दा ठूलो चुनौती सिर्जना गर्ने ठानिएको छ । इन्स्टाग्राम अकाउन्टबाटै लगइन गर्न सकिने यो एपमा तस्वीर, शर्ट, उच्च गुणस्तरका भिडिओ समेत पोस्ट गर्न सकिन्छ ।

“यो एपमा एक अर्बभन्दा बढी मानिसले सार्वजनिक कुराकानी गर्न सक्नेछन्,” थ्रेड सार्वजनिक भएपछि मेटाका मालिक मार्क जुकरबर्गले भनेका छन्, “ट्वीटरसँग यो अवसर थियो, तर गर्न सकेको छैन । आशा छ हामी त्यो गर्नेछौं ।”

मस्कले गत अक्टोबरमा ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर खरिद गरेका थिए । त्यस लगत्तै उनले हजारौं कर्मचारीलाई कामबाट निकाले र कन्टेन्ट मोडरेसन नीति समेत लत्याइदिए । अहिले पछिल्लो विवादित नीतिगत परिवर्तन गरिएको छ, जसमा ट्वीटर प्रयोगकर्तालाई दैनिक पढ्न सक्ने ट्वीटको सीमा राखिएको छ । यद्यपि त्यसलाई मस्कले बट तथा डेटा स्क्र्याप गर्ने कार्यको सामना गर्न अस्थायी रुपमा लागू गरिएको भनेका छन् ।

 

तपाईको प्रतिक्रिया