काठमाडौं – मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)को बैठकले माथिल्लो मुलपानी क्रिकेट मैदानको नयाँ नामकरण गरेको हो ।
सो क्रिकेट मैदानको नाम अब जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान रहने भएको छ । क्यानका संस्थापक तथा पूर्व अध्यक्ष जयकुमार नाथ शाहको सम्मानमा मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरेर उनको नाममा नामकरण गरेको हो ।
गत वैशाखमा एसिसी प्रिमियर कपमा हङकङ र सिंगापुरसँग खेलबाट माथिल्लो मुलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल भए पछि त्यस मैदानले अन्तर्राष्ट्रियकरण हुने मौका पाएको थियो । लामो समयदेखि बन्न सुरु गरेको भए पनि अझै पनि पुरा नभएको सो खेल मैदानलाई पूर्णता दिनका लागि सरकारले पनि यस आर्थिक वर्षमा सहयोग प्रदान गरेको छ ।
टियु नेपालको एकमात्रै पूर्ण अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्रिकेट मैदान हो । मुलपानी ओडिआई मान्यता पाउने नेपालको दोस्रो मैदान हो । २०२० मा पहिलो पटक नेपालमा टियु मैदानले ओडिआई मान्यता पाएको थियो ।
माथिल्लो मुलपानी क्यानले २००८ मा एकेडेमी सञ्चालनको लागि निर्माण सुरुवात गरेको थियो । तर पछि मैदान अभावपछि नेपालले राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ । मुलपानी ओडिआई मान्यता पाउने विश्वको २ सय १६ औँ मैदान समेत हो ।