काठमाडौं – नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको छ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा अमेरिका ६ विकेटले पराजित गरेको हो ।
अमेरिकाले दिएको २०८ रनको लक्ष्य पछाएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा भीम सार्कीले सर्वाधिक अविजित ७७ रन बनाएका थिए भने कुशल भुर्तेलले ३९ रन बनाएका थिए । त्यस्तै दीपेन्द्र सिंह ऐरीले अविजित ३९ रन बनाए भने कप्तान रोहित पौडेलले १६, कुशल मल्लले १३ र आसिफ सेखले १२ रन बनाएका थिए । अमेरिकाका बलर सौरभ नेत्रभल्कर, नोस्थुश केन्जगे, निसर्ग पटेल र स्टेभेन टेलरले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अमेरिकाले ४९ ओभरमा अलआउट हुदै २०७ रन बनाएको थियो । अमेरिकाका लागि शयान जहागिरले शतकीय पारी खेलेका थिए । अमेरिकालाई अल आउट गर्नेक्रममा नेपाली बलर करण केसीले ४ र गुलशन झाले ३ विकेट लिएका थिए । त्यस्तै दीपेन्द्र सिंह ऐरीले २ र ललित राजबंशीले एक विकेट लिएका थिए ।
योसंगै जिम्बाबेसंग पहिलो खेल हारेको नेपालले दोस्रो खेलमा जित हासिल गरेको छ । त्यस्तै अमेरिकाले भने प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ । अमेरिकाले पहिलो खेलमा वेस्टइण्डिजसँग पराजित भएको थियो । अब नेपालले आगामी बिहीबार वेस्टइन्डिजसँग खेल्ने छ भने अमेरिकाले विहिबारनै नेदरल्याण्डससँग खेल्ने छ ।