काठमाडौं – लियोनल मेसीले क्लबका लागि खेलेको अन्तिम खेलमा पेरिस सेन्ट जर्मन (पीएसजी) पराजित भएको छ । शनिबार राति अर्जेन्टिनी कप्तान लियोनल मेसीले पीएसजीका लागि अन्तिम खेल खेल्दा लिग वान च्याम्पियनले क्लेरमोन्ट फुटसँग ३–२ को हार व्यहोर्यो ।दुई वर्षको सम्झौतामा सन् २०२१ मा मेसी फ्रेन्च क्लबमा अनुबन्ध भएका थिए । सम्झौतामा एक वर्ष थप गर्ने विकल्प रहे पनि दुवै पक्ष सहमत नहुँदा मेसी सिजनको अन्त्यसँगै फुकुवा भएका हुन् ।
फ्रेन्च क्लबमा दुई वर्षको व्यावसायिक करियरमा मेसीले ३२ गोल र ३४ असिस्ट गरेका छन् । मेसीको बिदाई सुखद भने बन्न सकेन ।खेलका दौरान मेसीलाई पीएसजीका केही समर्थकले गिज्याएका थिए । पीएसजीबाट मेसीसँगै सर्जियो रामोसले पनि बिदा लिएका थिए ।लिग वान च्याम्पियनको रूपमा सिजनको अन्त्य गरेको पीएसजीले अन्तिम खेलअगावै लिग जितेको थियो ।
क्लेरमोन्टविरुद्ध २१औँ मिनेटमा २–० को अग्रता बनाएको पीएसजीले त्यसपछि लगातार तीन गोल बेहोरेको थियो । लिग वान च्याम्पियनविरुद्ध जित निकालेको क्लेरमोन्टले आठौँ स्थानमा रहेर सिजनको अन्त्य गरे ।