काठमाडौँ – भ्रष्टाचारविरुद्ध काठमाडौँसहित देशभर शनिबार प्रदर्शन गरिँदैछ। ‘भ्रष्टाचारविरुद्ध एक हौँ’ भन्ने अभियानले काठमाडौँ, भैरहवा, पोखरा, सिन्धुली, रुपन्देही, विराटनगरलगायतका स्थानमा प्रदर्शन गर्न लागेको हो। काठमाडौँको नक्साल नारायणचौरमा दिउँसो साढे १२ बजे प्रदर्शन गर्ने तयारी छ। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी हुनेछन्। उनले पार्टीगत रूपमा नभई सचेत नागरिकका रूपमा सहभागी हुन लागेको भन्दै रास्वपाका समर्थकलाई पनि पार्टीको झण्डा नबोकी कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीति र प्रशासन क्षेत्रका उच्च तहका व्यक्ति पक्राउ परेपछि भ्रष्टाचारविरुद्ध आवाज चर्किन थालेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणसँगै भ्रष्टाचार काण्डको निष्पक्ष अनुसन्धान र छानबिनका लागि दबाब दिन नागरिक स्तरबाट दबाबमूलक अभियान सुरु भएको हो।
यसैक्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निर्वाचन क्षेत्रमा युवाहरूले आज बिहान भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मणिग्राम चोकमा प्रदर्शन गरिएको हो। खाणको निर्वाचन क्षेत्र रुपन्देही-३ हो।