काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी सवारी चालक दिलबहादुर थापाको निधन भएको छ। थापाको उपचारका क्रममा मंगलबार दिउँसो १:३५ बजे मृत्यु भएको मेडिसिटी अस्पताल स्रोतले जानकारी दिएको छ। स्वास्थमा कुनै सुधार नदेखिएपछि आजै परिवारको आग्रहमा उनलाई भेन्टिलेटरबाट निकालिएको अस्पतालले जनाएको थियो। भेन्टिलेटरबाट निकालिएसँगै उनको मृत्यु भएको हो।
आफन्तले शव अस्पतालबाट लिएर गइसकेको समेत अस्पताल स्रोतले जनाएको छ।लामिछानेका सवारी चालक थापा गत वैशाख ४ गते बिहान ४ बजेतिर भरतपुर–११ स्थित लामिछानेकै घरको छतबाट खसेर गम्भीर घाइते भएको अवस्थामा फेला परेका थिए। उपचारका लागि चितवनको पुरानो मेडिकल कलेजमा भर्ना गरिएका थापालाई थप उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल ल्याइएको थियो।