काठमाडौँ – महोत्तरी – १ बाट निर्वाचित एमाले सांसद लक्ष्मी महतो कोइरीलाई निलम्बन गर्ने प्रक्रिया अगाडि बढेको छ । महान्यायाधिवक्ताको सचिवालयमार्फत आएको पत्र सभामुख देवराज घिमिरेसमक्ष पुगेर निर्णय प्रक्रिया अगाडि बढेको हो । महान्यायाधिवक्ता कार्यालयमार्फत संसद् सचिवालयमा गत पुस ७ गते र यही वैशाख १७ गते कोइरीका सम्बन्धमा पत्र आएको थियो । संसद् सचिवालय स्रोतका अनुसार यसअघि आएको पत्र सभामुखकोमा पुगेको थिएन । यसबीचमा कोइरीले बिरामी बिदा स्वीकृतिका लागि माघ २५ गते संसद् सचिवालयमा पत्र दर्ता गराएका थिए ।यो विषयले प्रतिनिधिसभा बैठकमा समेत चर्को विवाद र वादप्रतिवाद भएको थियो ।महान्यायाधिवक्ताको कार्यालयमार्फत पत्र आएपछि कोइरीलाई निलम्बन गर्ने प्रक्रिया अगाडि बढेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
विधिअनुसार, कानूनअनुसार जे हुने हो, त्यो प्रक्रिया अगाडि बढिसकेको छ,’ गिरीले भने ।मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते सशस्त्र प्रहरी बलका सहायक निरीक्षक थमन विकलाई घेरा हालेर कुटपिट गरी हत्या गरेको घटनामा महतोविरुद्ध जिल्ला अदालत महोत्तरीमा कर्तव्य ज्यान मुद्दा विचाराधीन छ ।
जिल्ला अदालतले थुनछेक बहसपछि महतोलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएकोमा उच्च अदालत जनकपुरले थुनामा राख्न आदेश दिएको थियो । तर, कोइरी पक्राउ परेका छैनन् ।फरार अभियुक्त रहेकै बेला चुनाव लडेर उनी निर्वाचित भएका थिए । संसद् सचिवालय स्रोतका अनुसार कोइरीलाई आजभोलिमै निलम्बन गर्ने गरी तयारी भएको छ । संसद् अधिवेशन नचलेको अवस्थामा सूचना प्रकाशित गरी निलम्बन गर्न सकिने व्यवस्था छ ।