काठमाडौं – नेपालमा बर्सेनि करिब एक खर्ब रुपैयाँभन्दा बढीको सवारी आयात हुने गरेको छ । सवारी आयातलाई रोक्न नेपालमा नै उत्पादनको विकल्प छैन । गाडी सुविधाभन्दा पनि आवश्यकता बन्दै गएपछि सरकारले आयातभन्दा पनि नेपालमा नै गाडी उत्पादन गर्ने निर्णय गरेको हो ।
लगानी बोर्ड नेपालले सरकारको निर्णयअनुसार नै भेइकल म्यानुफ्याक्चरिङ एन्ड एसेम्बली प्लान्ट आयोजनालाई अघि बढाइरहेको छ । बोर्डको ५१औं बैठकले एसेम्बल प्लान्ट परियोजना विकासका लागि मोट्रेक्स कम्पनीसँग वार्ता प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो । कम्पनीले २०७६ सालमा बोर्ड समक्ष उक्त एसेम्बल प्लान्ट स्थापनाको प्रस्ताव पेस गरेको थियो ।
२०७६ सालमा नै गाडी उत्पादन गर्ने कोरियाली कम्पनीसँग बोर्डले प्रारम्भिक लगानी सम्झौता गरेको थियो । तर, कोभिडलगायतका कारण योजना कार्यान्वयन सम्झौता हुन सकेको छैन । कम्पनीले बुटवलको मोतीपुर औद्योगिक क्षेत्रको सेक्टर एमा १० अर्ब ५४ करोड रुपैयाँ लगानीमा नेपालमा कम्पनी सुरुवात गर्ने भनिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कोरियाली लगानी भित्र्याउने निर्णय गरेका थिए ।
तर, सरकारको कार्बन उत्सर्जनलाई शून्यमा झार्ने नीतिसँगै यस आयोजनाको प्रकृतिमा केही परिवर्तन भएको बोर्डका प्रवक्ता अमृत लम्सालले जानकारी दिए । सुरुमा चारपाङ्ग्रे सवारीसाधनका साथै विद्युतीय गाडी एसेम्बल गर्ने कारखाना खोल्ने तयारी भएको थियो । तर, अहिले पेट्रोलियम पदार्थबाट चल्ने नभई विद्युत्बाट चल्ने इलेक्ट्रिक भेइकल-ईभी)मा उत्पादन गर्ने बोर्ड बैठकले नै निर्णय गरेको लम्सालले जानकारी दिए । आयोजनाले अब ईभीका पार्टपुर्जा र गाडी उत्पादन गर्नु पर्नेछ ।
यसमा पनि मोट्रेक्स सहमति जनाएको छ । तर भन्सार तथा अन्तःशुल्कमा पछिसम्म नै छुटको सुनिश्चित गर्नुपर्ने उसको प्रस्ताव छ । यसमा अर्थ मन्त्रालयको सुझाव प्रतीक्षा भइरहेको प्रवक्ता लम्सालले बताए । प्लान्ट ईभीमा मात्र रूपान्तरण हुने भएपछि आयोजनाको लागत करिब सात अर्ब रुपैयाँमा सीमित भएको छ ।
मुलुकको तीन तिहाइभन्दा बढी रकम आयातमा खर्चिने हुँदा गाडीको उत्पादन नेपालमा नै हुँदा यसले आर्थिकसँगै परनिर्भता पनि हटाउने बताइएको छ । केही समय लागे पनि मोट्रेक्सले नेपालमा नै गाडी उत्पादन गर्ने विश्वास बोर्डको छ । कम्पनीले नेपालमा नै पहिलो पटक विद्युतीय गाडीको पनि पार्टपुर्जा एसेम्बल गर्नेछ । –अन्नपूर्ण पोस्टबाट