समाचार सुन्नुहोस् :
काठमाडौं – एसएसपी बढुवा सिफारिसप्रति असन्तुष्टि जनाउँदै नेपाल प्रहरीका एसपी आभुषण तिमल्सिनाले राजीनामा दिएका छन् । गृहमन्त्रालयले शुक्रबार प्रकाशित गरेको बढुवा सिफारिसप्रति असन्तुष्टि जनाउँदै उनले प्रहरी हेडक्वार्टरमा आइतबार राजीनामा बुझाएका छन् । १८ जना एसपीको एसएसपीमा बढुवा हुँदा सिनियर र कार्यक्षमता भएकामाथि अन्याय गरिएको भन्दै उनले राजीनामा दिएको बताएका छन् । एसएसपी बढुवामा एसपी नान्तीराज गुरुङलगायतले पनि असन्तुष्टि जनाउँदै कासमु सार्वजनिक गर्न चुनौती दिएका छन् ।
तिमल्सिना नेपाल प्रहरीभित्र अपराध अनुसन्धानमा काबिल तर विभिन्न समयमा चर्चा र विवादमा आइरहने अधिकृत हुन् । २०५६ असार ३ गते प्रकाशित प्रहरी निरीक्षक छनौटको सूचीमा सर्वोत्कृष्ट अंक ल्याई एक नम्बरमा भर्ना एसपी तिमल्सिना त्यसपछिका बढुवा र जिम्मेवारीमा पछाडि पारिँदै आएका थिए । ०६२-६३ को जनआन्दोलनपछि तत्कालीन शाही पार्श्वपति भरतकेशर सिंहको हातमा हत्कडी लगाएर चर्चामा आएका तिम्सिनाले प्रहरीको स्याङ्जा, सिन्धुली, कैलालीलगायतका जिल्लाको नेतृत्व सम्हालेका थिए । १५ वैशाखमा १८ एसपीलाई एसएसपी बढुवाका लागि सिफारिस गरिँदा तिमल्सिना छुटेका थिए ।
०७५ जेठ २९ मा डीएसपीबाट एसपी र ०६७ पुस २३ मा इस्न्पेक्टरबाट डीएसपी बढुवामा तिमल्सिनाभन्दा कम नम्बर ल्याएका एसपीहरू यसचोटि एसएसपी सिफारिस भएको प्रति उनले संगठनका उच्चपदस्थ अधिकृतसमक्ष असहमति व्यक्ति गर्दै आएका थिए । राजीनामाको कारणबारे प्रश्न गर्दा तिमल्सिनाले भने, ‘मान्छेको जीवनमा जागिरभन्दा स्वाभिमान ठूलो हुन्छ ।’