Deneme Bonusu Veren Siteler
आइतबार, पौष १४, २०८१
Sunday, December 29, 2024

जसरी व्यक्तिको उमेर बढ्दै जान्छ, त्यसै अनुरुप यसको असर उसको छालामा देखिन थाल्छ । उमेर बढेसँगै छालामा चाउरी पर्ने, धर्काहरु देखिने हुन थाल्छ ।

उमेर बढ्दाको लक्षण कपाल तथा समग्र स्वास्थ्यमा नै परिरहेको हुन्छ । उमेर बढ्दै जाँदा मानिसलाई छिटो–छिटो थकाइ महसुस हुन थाल्छ । कपाल सेतो हुनसक्छ ।

उमेर धेरै बढेपछि वृद्धावस्थाका लक्षण देखिनु सामान्य नै हो । प्रत्येक व्यक्तिले यसबाट गुज्रनुपर्छ । तर कतिपयलाई चाहिँ कम उमेरमा नै बुढ्यौलीका लक्षण देखिन थाल्छन् ।

यसलाई प्रिमेच्योर एजिङ (उमेर नपुगी बुढ्यौली) अर्थात् असमयमै आएको बुढ्यौली भन्दछौँ । असमयमै आएको बुढ्यौलीमा मानिसको छालामा कम उमेरमा नै चाउरी परेको तथा मसिना रेखाहरु बन्न लागेको देखिन्छ ।

प्रिमेच्योर एजिङको लक्षण
असमयमै बुढ्यौली आयो भने लक्षणका रुपमा छालामा चाउरीपन तथा मसिना रेखाहरु देखिन थाल्छन् । यस्तै गरी अनुहार, घाँटी, हात आदिमा काला धब्बा तथा दागहरु (हाइपरपिग्मेन्टेसन) देखिन्छन् । यस्ता धब्बाहरुले सबैलाई तनाव दिने भए तापनि महिलाहरु बढी चिन्तित हुन्छन् । किनकि यसले महिलाको सुन्दरतामा कमी आउने भएकाले उनीहरुको आत्मविश्वासमा पनि कमी आउँछ ।

छालालाई मेलानिनले प्राकृतिक रंग प्रदान गर्छ । यो मेलानोसाइटिस कोशिकाहरुद्वारा उत्पादित हुन्छ । मेलानिनको उत्पादन बढी भएपछि हाइपरपिग्मेन्टेसन हुन्छ । यस्तै वंशाणुगत कारणले पनि हुन्छ । गर्भावस्था, सूर्यको युभी किरण आदिको कारणले पनि हुन्छ ।

२० देखि ५ वर्षको उमेरका
महिलाहरुबीच तनाव, गर्भनिरोधक चक्कीहरुको सेवन, गर्भधारण, रजोनिवृत्ति आदि कारणले पनि छाला विशेष गरी अनुहारमा दाग आउँछ । २० वर्षको उमेरसम्म चाहिँ संक्रमणका कारणले पन्अिनुहारमा कालो, रातो दाग देखिन सक्छ ।

सूर्यको किरण या परावैजनी किरण(युभी) हाइपरपिग्मेन्टेसनको प्रमुख कारक हो । यसले शरीरमा सीधै मेलानिनको उत्पादनलाई प्रभावित गर्छ । मूलरुपमा मेलानिन एक प्राकृतिक सनस्क्रिन हो ।

यसले छालालाई सूर्यको परावैजनी किरणबाट बचाउँछ । तर जब सूर्यको प्रत्यक्ष किरण लामो समय वा धेरै बेर पर्छ तब मेलानिनको उत्पादनमा प्रभाव पर्छ । यसका कारण कालो धब्बा बन्न सक्छ ।

छाला सूर्यको अधिक सम्पर्कमा आउनाले ४० वर्षभन्दा बढी उमेरका मानिसमा लेन्टिगो सोलारिस (Lentigo solaris) नामक स–साना धब्बा बन्न सक्छन् ।

जब मानिसको उमेर बढ्दै जान्छ, उसको छालाका कोषहरु पुनर्जीवित (Regenerate) हुने क्षमता कमजोर हुँदै जानु नै यसको मूल कारण हो । यी साना दागहरु कलेजी रंगका हुन्छन् । त्यसैले यिनलाई लिवर स्पट पनि भनिन्छ ।

मानिसको शरीरका हर्मोनल उतारचढावका कारण पनि अनुहारमा दाग तथा धब्बाहरु देखिन्छन् । यसरी उत्पन्न हुने कालो रंगका दागहरु (पिग्मेन्टेसन) लाई मेलास्मा भन्ने गरिन्छ ।

यी दागहरु पनि सूर्यको किरणसँग सम्बन्धित छन् । एस्ट्रोजन तथा प्रोजेस्टेरोन हर्मोन सूर्यको प्रकाशको सम्पर्कमा आउनाले मेलानिनको उत्पादनमा प्रभाव परी दागहरु देखिन्छन् ।

कतिपय अवस्थामा परफ्युम लगाएर तुरुन्तै घाममा निस्कँदा छालामा काला धब्बा देखिन सक्छन् । यसलाई रोक्नका लागि अनुहार, घाँटी वा शरीरको अन्य भागमा परफ्युम नलगाई कपडामा मात्र पर्ने गरी लगाउनु उचित हुन्छ ।

ठूला शहरमा बस्नेहरुलाई प्रदूषणका कारण पनि अनुहारमा अनेक दागहरु देखिने, छालामा सुख्खा तथा चाउरीपन देखिने हुन्छ । यस्तै गरी प्रिमेच्योर एजिङ हुँदा उमेरै नपुगी छालामा सुख्खापन देखिने, छालाको चमकमा कमी आउने हुन्छ । छाला कसिलो नहुने, कपाल झर्ने, कपाल सेतो हुनेजस्ता लक्षणहरु पनि देखिन्छन् ।

असमयमै बुढ्यौली देखिनुमा घाममा अधिक समय रहनु, इलेक्ट्रोनिक उपकरणको बढी उपयोग, धूमपान गर्नु, अस्वस्थ खाना खानु, मदिरा सेवन गर्नु, निद्रा नपुग्नु, तनावमा रहनु पनि हुन् ।

सनस्क्रिनको प्रयोग नगरी घाममा धेरै बेर बस्दा असमयमै बुढ्यौली आउन सक्छ । सूर्यको किरणको सम्पर्कमा धेरै समय रहनाले छाला छिट्टै बुढो देखिन सक्छ । वास्तवमा सूर्यले छालाको कोशिकाहरुलाई क्षति पु¥याउँछ । कोषहरुमा क्षति पुगेपछि छालामा चाउरीपन देखिन थाल्छ ।

जसले मोबाइल फोन वा इलेक्ट्रोनिक उपकरणको अधिक उपयोग गर्छ उसले प्रिमेच्योर एजिङको सामना गर्नुपर्ने हुनसक्छ । वास्तवमा ब्ल्यु लाइटले छालामा परिवर्तन ल्याइदिन्छ ।

नीलो रंगले कोलेजन तथा छालाको लचकतालाई प्रभावित पारिदिन सक्छ । यसले गर्दा छालामा चाउरीपन तथा मसिना रेखाहरु देखिन सक्छन् । ब्ल्यु लाइटले ताप पैदा गरिदिन सक्छ, यसले छालामा गर्मी महसुस गराउन सक्ने हुन्छ ।

खानपान
अस्वस्थ खाना सेवन गर्नु प्रिमेच्योर एजिङको महत्वपूर्ण कारण हो । किनकि हामी जे खान्छौँ, त्यसको असर हाम्रो शरीरमा प्रत्यक्ष रुपमा पर्छ ।

यदि हामीले अधिक चिनी भएका तथा चिनी भएका प्रशोधित खाना खान्छौँ भने हामीले निश्चत रुपमा नै प्रिमेच्योर एजिङको सामना गर्नुपर्छ । फास्ट फुड, तारेको, भुटेको धेरै खाना तथा जंक फुड धेरै खानेले पनि प्रिमेच्योर एजिङलाई निम्तो दिन्छन् ।

धूमपान स्वास्थ्यका लागि सधैँ हानिकारक नै हो । यो सम्पूर्ण स्वास्थ्यका लागि अहितकर छ । वास्तवमा यसले छालाको कोषहरुमा पनि क्षति पुर्‍याउँछ । धूमपान गर्दा उत्पन्न हुने र शरीरले ग्रहण गर्ने निकोटिन नामक विषाक्त पदार्थले छालाको कोलेजन तथा इलास्टिसिटीलाई कम गरिदिन्छ ।

यसले छालामा चाउरी पर्न शुरु हुन्छ । साथै चुरोटको धुवाँले छालामा सुख्खापन सिर्जना गरिदिन्छ । यसले चाउरीपन देखिने र असमयमै बुढ्यौली आउने हुन्छ । मदिराको सेवनले कलेजोको साथै छालालाई पनि प्रभावित गर्छ ।

मदिरापान गर्नाले छाला सुख्खा हुन्छ । साथै छालाका कोषहरुमा पनि क्षति पुग्छ । यसले गर्दा उमेर पुग्नुअघि नै बुढ्यौली देखा पर्छ ।स्वस्थताका लागि पूरा निद्रा आवश्यक हुन्छ ।

पर्याप्त रुपमा निद्रा पुगेन भने समयअघि नै बुढ्यौली आउँछ । अध्ययनबाट थाहा पाइए अनुसार निद्राको कमीले छालाका कोषहरुको उमेर छिटो बढाइदिन्छ ।

तनावमा रहँदा पनि त्यसको असर छालामा पर्न सक्छ । जब कुनै व्यक्ति तनावमा पर्छ, उसको मस्तिष्कको कोर्टिसोल नामक स्ट्रेस हर्मोनलाई रिलिज गर्छ । यसले असमयमै बुढ्यौली निम्त्याउँछ । यसले छालालाई तन्काइदिन सक्छ ।

असमयमै हुने बुढ्यौलीबाट बच्ने उपाय
असमयमै हुने बुढ्यौलीबाट बच्नका लागि हेल्दी डाइट याने स्वस्थ खाना लिने, घामबाट सकेसम्म बच्ने, घाममा निस्किँदा टाउको ढाकेर अनुहारमा प्रत्यक्ष सूर्यका किरण पर्न नदिने गर्नुपर्छ ।

छाला घाममा पर्ने अवस्थामा सनस्क्रिन लगाउने, छालामा जथाभावी परफ्युम नलगाउने, पानी प्रशस्त पिउने, मदिरा तथा धूमपान नगर्ने, नियमित एक्सरसाइज गर्ने, ध्यान गर्ने, तनावमा नपर्ने, निद्रा पुग्ने गरी सुत्ने गर्नुपर्छ । कम्तीमा ७ देखि ८ घन्टा सुत्नुपर्छ ।

(साैजन्य : साधना मासिक)

तपाईको प्रतिक्रिया