शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्र कोसी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोमाथि आक्रमणको प्रयास भएको छ । प्रदेशको नाम कोसी राखेको भन्दै असन्तुष्ट समूहले ताप्लेजुङमा आङ्बोमाथि आक्रमणको प्रयास गरेको हो ।

प्रहरीका अनुसार आङ्बो सवार गाडीमा आक्रमण हुँदा सामान्य क्षति पुगेको छ । फुङलिङ बजार आउने क्रममा आङ्बो सवार गाडीमाथि आक्रमणका प्रयास भए पनि पहिचान भइनसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी राजन लिम्बूले जानकारी दिए । फुङलिङ बजार भन्दा ७-८ किलोमिटर तल गाडीमाथि ढुङ्गा प्रहार भएको पाइए पनि आक्रमण गर्नेको पहिचान भइनसकेको र अनुसन्धान गरिरहेको उनले बताए ।

प्रदेशको नाम कोसी राखेपछि पहिचानको आधारमा नाम राख्नुपर्ने माग गर्दै आएका समूहहरु आन्दोलनमा छन् । सोमबार एक समूहले ओखलढुंगामा मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमा आक्रमणको प्रयास गरेको थियो । सुरक्षा जोखिम बढेपछि मुख्यमन्त्री भ्रमण छोट्याएर सोमबार नै विराटनगर फर्किएका थिए । मंगलबार पार्टीको कार्यक्रमका लागि ताप्लेजुङको फुङ्लिङ बजार जाने क्रममा माओवादीको कोसी प्रदेश संसदीय दलका नेता आङ्बोमाथि आक्रमण प्रयास भएको हो ।

तपाईको प्रतिक्रिया