बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

टोकियो – जापानीहरूको एउटा मान्यता छ- शारीरिक गतिविधिमा सक्रिय हुँदा मात्रै एक सय वर्षसम्म बाँच्न सकिन्छ । त्यही कारण यहाँ मानिस सानैदेखि शारीरिक गतिविधिमा सक्रिय हुन्छन् ।

विद्यार्थीहरू साइकल चलाएर स्कुल जान्छन् वा पैदलै हिँड्छन् । अधिकांश वयस्क पनि हिँडेरै वा साइकलमा कार्यालय जान रुचाउँछन् । ठूला सहरमा बस्नेहरू मुख्य स्टेसनसम्म सार्वजनिक बसमा जान्छन्, त्यसपछि स्टेसनबाट कार्यालयसम्म हिँडेरै जान्छन् । त्यस्तै, उनीहरू योगाका लागि पनि समय छुट्याउँछन् । यसले उनीहरूलाई सक्रिय गराउँछ । बिदाको समय हाइकिङ र साइक्लिङमा जानेहरूको संख्या पनि ठूलो हुन्छ ।

विश्वमा ग्रिन टी अत्यधिक खपत हुने १० देशमध्ये जापान एक हो । जापानीहरू स्लिम देखिनुको अर्को कारण यो पनि हो । अर्को कुरा, यहाँका मानिसले सानो प्लेटमा खाना लिन्छन् । जापानी स्कुलहरूमा समेत विद्यार्थीलाई थोरै खुवाइन्छ ।

स्कुलमा सानो कचौरामा भात, सोयाबिन, फलफूल, मिसो सुप, माछा, तोफु र तरकारीहरू खुवाइन्छ । कम फ्याट र धेरै प्रोटिन भएका खानेकुरा खाने बानीको विकास विद्यार्थीले सानैदेखि गरेका हुन्छन् । उनीहरू धेरै खानेभन्दा पनि गुणस्तरीय खाने गर्छन् । जसले फिटनेसमा सघाउ गर्छ ।

तपाईको प्रतिक्रिया