काठमाडौं – नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् । काठमाडौँको भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको विशेष अदालतले ठहर गरेको हाे ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्य शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङलाई दोषी ठहर गर्दै फैसला सुनाएको हो । १४ जनाविरुद्ध मुद्दा दायर भएपनि ९ जनालाई अदालतले दोषी ठहर गरेको छ ।
उनीहरूलाई गुरुङलाई के कति सजाय हुने भन्ने फागुन २५ गते निर्धारण हुने विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ माघ २१ गते निलम्बित सांसद गुरुङसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।