काठमाडौं – मुलुकको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिमा दुई जना पूर्वसभामुखबीच प्रतिस्पर्धा हुने भएको छ । राष्ट्रपति पदमा नेपाली कांग्रेससहितका आठ दलले पूर्वसभामुखसमेत रहेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले पूर्वसभामुख तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको हो ।
राष्ट्रपतिका दुवै उम्मेदवारले शनिबार संसद् भवन नयाँ बानेश्वरमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारको मनोनयन दर्ता गराएका हुन् । २५ फागुनमा राष्ट्रपति चयन गर्न मतदान हुँदैछ ।काङ्ग्रेससहित आठ दलका तर्फबाट उम्मेदवार बनेका पौडेललाई सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको मुख्य साथ छ । यसैगरी एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको साथ पौडेलले पाएका छन् ।
यस्तै, एमाले उम्मेदवार नेम्वाङको समर्थनमा अरू कुनै पनि दल खुलेका छैनन् । तर, एमाले नेताहरूले भने १० पुसमा भएको सहमतिअनुसार नै राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रसहितको साथ पाउने अपेक्षामा छ ।
राष्ट्रपति पदका लागि कांग्रेसबाट उम्मेदवार बनेका पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोककुमार राई र अब्दुल खान छन् । यस्तै, समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे छन् ।
एमाले उम्मेदवार नेम्वाङको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विक रहेका छन् भने समर्थकहरूमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के छन् ।
राष्ट्रपतिका लागि काङ्ग्रेससहित आठ दलको साथ पाएका पौडेल ३ पुस २०५१ देखि ९ चैत २०५५ सम्म सभामुख थिए । यस्तै, नेम्वाङ १२ साउन २०६५ देखि १४ जेठ २०६९ सम्म पहिलो कार्यकालमा संसद्को सभामुख बनेका थिए ।
नेम्वाङ ६ फागुन २०७० देखि २७ असोज २०७२ सम्म दोस्रो कार्यकालका लागि पुनः सभामुख बनेका थिए । संविधानसभा निर्वाचनपछि दुवै संविधानसभामा नेम्वाङ अध्यक्षको भूमिकामा थिए । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल भने आगामी २८ फागुनमा सकिँदै छ । उनी २८ फागुन २०७४ मा राष्ट्रपति निर्वाचित बनेकी थिइन् ।
पुरानै मतभार
निर्वाचन आयोगले २०७४ सालको राष्ट्रपति निर्वाचनको मतभारलाई नै आधार मानेर २५ फागुनमा हुने राष्ट्रपति निर्वाचन सम्पन्न गर्ने भएको छ । २०७४ सालमा संघीय संसद्को मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ कायम थियो ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको अनुसूचीअनुसार देशको कुल जनसङ्ख्यालाई संघीय सांसदको कुल संख्याले भाग गर्दा आउने भागफललाई १ हजारले भाग गर्दा जुन नम्बर आउँछ, त्यो नै एक संघीय सांसदको मतभार हुन्छ । प्रदेशसभा सदस्यको मतभार पनि यही प्रक्रियाबाट तय हुन्छ । आयोगले पछिल्लो २०७८ मा सम्पन्न जनगणनाको अन्तिम विवरण औपचारिकरूपमा सार्वजनिक नभएकाले पुरानै मतभारबाट राष्ट्रपति निर्वाचन गर्न लागेको हो ।
२०६८ सालको जनसङ्ख्यालाई आधार मानेर २०७४ को राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय संसद्को मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ कायम गरिएको थियो । अहिले २०७८ मा सम्पन्न जनगणनाको आधिकारिक तथ्यांक सार्वजनिक नभइसकेका कारण पुरानै मतभारमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन गर्नुपर्ने अवस्था आएको हो ।
कुन दलको कति मतभार ?
निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको अन्तिम नामावली अनुसार राष्ट्रपति निर्वाचन ८८२ जनाले मत दिन पाउनेछन् । जसमा ५५० प्रदेशसभा सदस्य र ३३२ संघीय सांसद रहनेछन् । ३३४ संघीय सांसदमध्ये दुईजनाले मतदानमा भाग लिने छैनन् । रवि लामिछानेको निर्वाचन क्षेत्र चितवन २ मा रिक्त रहेको छ भने कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बित अवस्थामा छन् ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ५४ बमोजिम संघीय सांसदको मतभार ७९ र प्रदेश सभा सांसदको मतभार ४८ रहेको छ । यसरी हेर्दा संघीय संसदमा तत्काल कायम रहेका सांसद संख्या ३३२ लाई ७९ ले हिसाब गर्दा २६ हजार २२८ मतभार हुन आउँछ ।
त्यस्तै, प्रदेश सभाका ५५० सदस्यलाई ४८ ले हिसाब गर्दा २६ हजार ४०० हुन आउँछ । यसरी हेर्दा राष्ट्रपति निर्वाचनको कूल मतभार ५२ हजार ६२८ हुन्छ । यसमध्ये बहुमत ल्याउने उमेदवार राष्ट्रपतिमा विजयी हुनेछ ।
कांग्रेसलाई सघाउने आठ दलको मतभार
नेपाली कांग्रेस- १६ हजार १४२
नेकपा माओवादी केन्द्र- ७ हजार ६४९
नेकपा एकीकृत समाजवादी- २ हजार ५७४
जनता समाजवादी पार्टी (जसपा)- २ हजार १४५
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)- ९७१
जनमत- १ हजार २४२
नागरिक उन्मुक्ति- ८९२
राष्ट्रिय जनमोर्चा (राजमो)- २०६
आठ दलले कांग्रेसका उमेदवारलाई मत हाल्दा ३१ हजार ८२१ मतभार हुन आउँछ ।
अरु कुन दलसँग कति छ
नेकपा एमाले- १५ हजार २८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)- १५०१
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)- २ हजार ४५०
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)- २२३
संघीय समाजवादी- ४८
हाम्रो नेपाली पार्टी- ९६
स्वतन्त्र- ८१३
मनोनीत- २३७
ती आठ दल बाहेक अरुसँगको मत २० हजार ६४९ रहेको छ ।