काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पुस १० गते प्रधानमन्त्री बनाउने समझदारी गर्दै निर्माण भएको नेकपा एमालेसहितको वर्तमान सत्ता गठबन्धन दुई महिना बित्न नपाउँदै भत्किएको छ । पुस १० गते एमाले र माओवादीबीच प्रधानमन्त्री र सभामुख आलोपालो र राष्ट्रपति एमालेले लिने समझदारीसहित नयाँ सत्ता गठबन्धन निर्माण भएको थियो ।
तर नयाँ राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ताको एक दिनअघि नेपाली कांग्रेस नेतृत्वमा रहेको पुरानो माओवादीसहित पाँच दलीय गठबन्धन ब्युँताउने सहमति भएको छ । साथै उक्त गठबन्धनमा प्रतिनिधिसभामा रहेका अन्य तीन दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) समेत सहभागी भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको आठ दलको बैठकमा नयाँ गठबन्धन निर्माण गर्ने सहमति भएको हो । गठबन्धन बैठकमा प्रतिनिधिसभाको ठुलो दलको हैसियतमा नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति भएको नेकपा एकीकृत समाजवादी (नेकपा एस) का उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए । ‘संसद्को ठुलो दलको हैसियतमा नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति भएको छ,’ उनले आठ दलीय बैठकपछि पत्रकारसँग भने, ‘राष्ट्रपतिमा कांग्रेसले सार्ने उम्मेदवारलाई जिताउन सबै दल लाग्ने सहमति भएको छ । निर्वाचनअघिको गठबन्धनलाई निरन्तरता दिँदै अघि बढ्ने हामीबीच समझदारी बनेको छ ।’
तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गर्ने मनसायका साथ संसदीय प्रक्रिया अघि बढाएपछि कांग्रेस नेतृत्वमा माओवादी केन्द्र, नेकपा एस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन निर्माण भएको थियो । प्रमुख राजनीतिक दलका साथै विभिन्न पक्षसँगको दुई पक्षीय र बहुपक्षीय छलफलपछि शुक्रबार साँझ बसेको आठ दलको बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसद्को ठुलो दलको हैसियतमा कांग्रेसलाई राष्ट्रपति दिन प्रस्ताव गरेको लोसपा नेता राजेन्द्र महतोले जानकारी दिए ।
कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्ने प्रस्ताव गर्दै दाहालले गठबन्धनमा रहेका दलहरूलाई सरकारमा सहभागी हुन पनि आह्वान गरेका छन् । प्रधानमन्त्री दाहालले नयाँ राजनीतिक यात्रा सुरु भएको घोषणा गरेको जानकारी महतोले दिए । प्रधानमन्त्री दाहाललाई उद्धृत गर्दै उनले भने, ‘तपाईंहरू सबै सरकारमा सहभागी भएर मुलुकसामु देखिएका राजनीतिक चुनौतीको सामना गर्दै अब जनजीविकाका मुद्दामा पनि हामी एक भएर अघि बढ्नेछौं ।’ –नागरिक दैनिकबाट