सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

आउनुस् आज कुरा गरौँ- जापानको ओफुरो お風呂को बारेमा ! तपाईँ हामीमध्ये धेरैलाई थाहा छ- ओफुरो के हो ? र यसको उपयोगिता के हो भनेर । व्यस्त जापानी जीवनमा मानिसलाई स्वास्थ्य राख्न ओफुरोले धेरै महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ ।

घरको बाथरुमको एउटा कर्नरमा बाथ टब राखिएको हुन्छ र त्यही बाथ टबमा जापानीहरू दिनहुँ जसो कामबाट फर्केर आएपछि खाना खानु अगाडि या सुत्नु अगाडि यो तातो पानीले भरिएको बाथ टबमा डुबेर बस्छन् । यसैलाई जापानमा ओफुरो お風呂 भनिन्छ ।

दिनभरको थकित काम, कमिला जस्तै घोटिएर गर्नु पर्ने मेहनत, त्यसमाथि हाकिमले भनेको एक/एक शब्द अक्षरशः पालन गर्नुपर्ने अनुशासन, हरेक आदेशमा झुकेर दिनुपर्ने जवाफ, अनि अफिस टाढा भए घण्टौँ रेलमा झुन्डिएर गर्नुपर्ने यात्रा, यी सबै कुराले जापानी जीवनशैली अति व्यस्त, अनौठो अनि मसिन जस्तै निरस हुन्छ ।

त्यसैले सन् २०२२ ताका जापान आउने कलिला भाइ बैनीहरूले यहाँ आएको केही दिनमा नै मृत्यु वरण (आत्महत्या) रोज्न पुगे । नेपालमा ऋण धन गरेर आएको, ठूला-ठूला सपना केही समयमा नै सोचेको जस्तो उपलब्धि नहुने वास्तविकता र अल्लारे बुद्धिको परिणाम हो जस्तो लाग्छ यो आत्महत्या !यी सबैका बाबजुद पनि जापानी मेहनत र परिश्रमको फलले आज यो देश विश्वको सर्वोच्च विकासको सूचिमा पर्दछ । मेहनत गरे ढुंगामा पनि हिरा फल्छ भन्ने उखानलाई चरितार्थ पार्दै परिश्रम गर्छन् जापानीहरू चाहिँ ।

हामी नेपालमा बस्ने साथी भाइलाई त कल्पना गर्न पनि गाह्रो होला ! किन यति धेरै मेहनत किन गर्छन् जापानीहरू ? साथीहरू त्यसैले जापान यति विकसित र अनुशासित छ, बुझ्नु पर्ने कुरा ।

नेपालमा जस्तो १० बजेको काम हल्लिँदै गएर ‘सरकारी काम कहिले जाला घाम’ गर्न पाइँदैन यहाँ । हो यही काम र यात्रा गरेर थाकेको शरीरलाई आराम दिने भनेको एउटा राम्रो खाना र अर्को यो चमत्कारिक पानीमा डुबेर आराम गर्ने ओफुरो नै हो । जापानको ९९% घरमा हुने यो ओफुरो यहाँको सरकारको सामाजिक आवश्यकतामा पर्दछ ।ओफुरो हरेक घरको बाथरुमको एउटा कर्नरमा अवस्थित हुन्छ । र त्यही बाथ टबमा तातो पानी जम्मा गरी औषधी हालेर परिवारका सबै सदस्य पालैपालो ओफुरो बस्दछन् । र यसले थाकेको मन र शरीरलाई पुनर्जीवन प्रदान गर्दछ ।

२०१० सालदेखि २०१३-१४ सालसम्म नेपालमा माओवादीको समस्याको कारण अमेरिकाले राजनैतिक असुरक्षित देश नै भनेर घोषणा गरेको थियो । त्यो समय हरेक दिन जसो साईतामा अञ्चलको आशाका-शहरसम्म पुगेर नेपाली पढाएर टोक्यो फर्कँदा आधा ज्यान हुन्थ्यो । त्यो समय मलाई यो ओफुरोले नयाँ जीवन दान दिएको जस्तै महसुस हुन्थ्यो ।

त्यसपछि पनि पटक पटक नागानो अञ्चलको कोमागाने शहरमा जाईकाको ट्रेनिन्ग सेन्टर, त्यो पनि फेब्रुअरीको मध्य जाडो, यो ज्यान ओफुरोकै कारण जिउँदो छ आजसम्म जस्तो लाग्छ । ओफुरोले दिने ऊर्जाले नै सबै जनालाई भोलिपल्ट उठाएर काममा पठाउँछ । नत्र सबै जापानी पनि बाथ रोगले ग्रसित भैसकेका हुन्थे होलान् । त्यसैले धन्य छ जापानको ओफुरो जीवन ।

हामी नेपाली भएको हुनाले र सानैदेखि तातो पानीमा बस्ने बानी नपरेको हुनाले यदाकदा मात्र बस्छौँ होला । तर जाडो मौसममा भने हरेक दिन नबसी थकाई मेटिँदैन । ओफुरो गएर थाकेको मन र शरीर दुबैलाई थकानबाट पार लगाएपछि मात्र निन्द्रा पनि पर्छ भन्छन् यहाँ । ओफुरो सबै नेपालीलाई पनि राम वाण सिद्ध नै भैसकेको होला अहिले त ।

ओफुरो जापानको आ-आफ्नो घरमा हुने बाथ-टबमा तातो पानी जम्मा गरेर त्यसमा आराम गर्ने चलनको नाम हो । तर घर बाहिर गएर बिसौँ-तिसौँ जना एकैपटक तातो पानीको पोखरीमा नुहाउने ठाउँलाई चाहिँ ओनसेन 温泉भनिन्छ ।यो नेचुरल भोल्कानिक स्पिन्ग हट वाटर बाट बनाइएको हुन्छ । अनि सेन्तो चाहिँ 銭湯♨️ मान्छेले पानी तताएर पब्लिक बाथको लागि बनाइएको ठाउँ हो । यी दुवै ठाउँमा पैसा तिरेर नुहाउने सुविधा प्राप्त हुन्छ र कतै कतै त नुहाई सकेपछि प्रोफेसनलहरूले शरीर भरीको मैलो माडेर पनि निकाली दिन्छन् ।

ओनसेनको पानीमा भोल्कानिक स्प्रिन्ग वाटरबाट बनेको हुनाले मान्छेको छालालाई राम्रो र चमकदार बनाउने खनिज र मिनरल मिश्रित हुन्छ, त्यसैले जापानमा यो धेरै प्रसिद्ध छ । तर सेन्तो खाली पानी तताएर पब्लिक बाथको लागि बनाइएको नुहाउने सुविधा भएको ठाउँ हो ।

यो पब्लिक बाथको सुविधा लिने ठाउँ एउटै छाना मुनि भएता पनि केटा मान्छे र केटी मान्छेको लागि अलग्ग अलग्ग कोठा र पानीमा डुब्ने पोखरी पनि अलग्ग-अलग्ग हुन्छ । अर्थात् नारी र पुरुष एउटै तातो पानीको पोखरीमा डुब्न पाइँदैन । कुनै-कुनै गाउँमा भने लेडिज र जेन्ट्सको लागि एउटै ओनसेन पोखरी पनि हुन्छ ।

म पनि पहिलो पल्ट ओनसेन जाँदा अचम्मित भएको थिएँ । किनकि सबै केटा र केटीहरू नाङ्गा-नाङ्गै एउटै ठाउँमा नुहाई रहेका हुन्छ । तर कसैलाई कसैको मतलब नभएको देखेर एकछिन पछि मलाई लाग्यो, यस्तै रहेछ यहाँको चलन भनी चित्त बुझाएँ ।

गृष्मा पौड्याल
टोक्यो जापान

तपाईको प्रतिक्रिया