सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – जलेर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजानका लागि कीर्तिपुर अस्पतालबाट निकालिएको छ । कीर्तिपुर अस्पतालबाट एम्बुलेन्समा राखेर उनलाई विमानस्थल लगिँदै छ ।

विमानस्थलबाट श्री एयरलाइन्सको विमानमार्फत उनलाई उपचारका लागि मुम्बईको सुविधासम्पन्न नेशनल बर्नस् सेन्टरमा लगिने छ । स्वास नलीमा जलनले असर र सुन्नीन सक्ने जोखिम भएकाले स्वास नलीमा पाईप राखी (ईन्टुबेसन गरी) अक्सिजन दिँदै एयर एम्बुलेन्समार्फत नर्भिक अस्पतालको चिकित्सकिय टिम सहित मुम्बई रिफर गर्ने तयारी भएको हो ।

स्वास्थ्य अवस्था जटिल भएपछि भण्डारीलाई भारत लैजान अस्पतालले सिफारिस गरेको थियो । ग्यास सिलिन्डर बिस्फोटमा परेर घाइते भएकी नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीकी आमा ८६ वर्षीया हरिकला भण्डारीको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा हरिकला भण्डारीको बिहीबार बिहान १०:५७ बजे मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया