काठमाडौं – नेपाली चलचित्रको विकाशका लागि स्थापित नेपाल सरकारको आधिकारिक सँस्था चलचित्र विकाश बोर्डका कर्मचारी सहितको जम्बोटोल यतिबेला दुबईमा छ । बोर्डले ३० लाख रुपैयाँ खर्चेर दुबईमा नेपाली फिल्म फेस्टा कार्यक्रम राखेको छ । तर त्यो फेस्टामा नेपाली चलचित्रका आधिकारिक सँस्थाको कसैलाई पनि संस्थागत रुपमा समावेश गराईएको छ ।
यो फेस्टाका लागि बिकाश बोर्डबाट सञ्चालक समिति सदस्य र कर्मचारी सहित २२ जना र कार्यक्रम व्यबस्थापक भनिएको सूर्य कर्पोरेशनका १६ जना गरी ३८ जना यतिबेला दुबईमा छन् । उनीहरु शनिबार साँझ दुबई उडेका हुन् । बोर्ड अध्यक्ष भुवन केसीको नेतृत्वमा दुवई पुगेको टिममा दर्जन व्यक्ति त बोर्डका सञ्चालक समिति र कर्मचारी रहेका छन् । उनीहरु सहित भुवन केसीका छोरा अनमोल केसी, भुवनले फिल्म क्याप्टेनाबाट डेब्यु गराएको नायिका उपासना सिंह ठकुरीसहित अभिनेता शिब श्रेष्ठ, प्रशान्त ताम्राकार, क्युएफएक्स सिनेमा चेनका सञ्चालक नकिम उद्दिन, चलचित्र निर्देशक टिका भुषण दाहाल, रामबाबु गुरुङलगायत छन् ।
यस्तै चारजना सञ्चारकर्मी, केही गायक गायिका र सूर्य कर्पोरेशनका एक दर्जन व्यक्तिहरु नेपालबाट यो टिममा दुबई पुगेका छन् । उनीहरु बुधबारसम्म चार दिनको कार्यक्रम सम्पन्न गरेर नेपाल फर्कने छन् ।
तर चलचित्र सम्बन्धित आधिकारिक संस्था नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्देशक समाजका पदाधिकारीलाई यो विषयमा पत्तो समेत छैन । दुबईमा बोर्डले ३० लाख रुपैयाँ खर्चेर तीन वटा चलचित्र, एउटा बृत्तचित्र देखाउने र अन्तरक्रिया गर्ने कार्यक्रम राखेको आफुहरुले सुनेको भए पनि कुनै आधिकारिक जानकारी बोर्डले नगराएको सम्बन्धित संस्थाका पदाधिकारीले राजधानीलाई बताएका छन् ।
यस अघि नेपाली भाषाको चलचित्र औपचारिक रुपमा हलमा रिलिज हुन नसकेको दुबईमा यती धेरै पैसा खर्च गरेर गरिएको फेस्टाप्रति नेपाल चलचित्र निर्माता संघले आपत्ती जनाएको छ,‘नेपाली चलचित्र निर्माताको साझा संस्था नेपाल चलचित्र निर्माता संघलाई समेत औपचारिक रुपमा जानकारी नदिई आफ्ना कर्मचारी, छोरा, भतिजा र एउटा कन्सल्टेन्सीका नजिकका मान्छेलाई लगेर दुवईमा फेस्टा भईरहेको मैले कतैबाट सुनेँ । हामीलाई आधिकारिक कुनै जानकारी नदिएकाले त्यो सरकारी रकमबाट हो की बोर्ड अध्यक्ष भुवन केसीको आफ्नै गोजीको पैसाबाट भएको हो भन्ने कुरा हामीलाई जानकारी छैन’, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले राजधानीसँग भने,‘चलचित्र संघ, निर्माता संघ, निर्देशक समाज, कलाकार संघसहित चलचित्रको आधिकारिक संस्थालाई बाईपास गरेर बोर्डले त्यहाँ के कार्यक्रम कसका लागि र किन गरेको भन्ने कुराको हिसावकिताव हामी बोर्ड र सञ्चारमन्त्रालयसँग यसैसाता साँयुक्त रुपमा माग्ने छौं ।’
विकाश बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्रको बजार बिस्तारका लागि दुबईमा फेस्टा गर्न लागेको बताउँदै गर्दा उनले नियुक्त गरेका बोर्डका दुई जना सल्लाहका अग्रज अभिनेता निर्देशक निर शाह र नेपाल चलचित्र कलाकार संघका अध्यक्ष समेत रहेका अभिनेता रविन्द्र खड्काले त यसै साता सल्लाहकार पदबाट राजिनामा समेत दिएका छन् ।
यसरी बोर्डको सल्लाहकारबाट राजिनामा दिनुको कारणबारे नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले राजधानीसँग भने,‘व्यक्तिगत रुपमा भुवन केसी मेरा मित्र भए पनि बोर्डमा उहाँले हामीलाई सल्लाहकारको रुपमा नियुक्त गरेर हाम्रा कुनैपनि कुरा नसुनेपछि निर शाहज्यू र मैले राजिनामा दिएका हौं ।’ उनले दुबईको फस्टाबारे टिप्पणी गर्दै भने,‘नेपाली चलचित्रको बिदेशमा बजार बिस्तार गर्ने हो भने कहाँ नेपाली चलचित्र रिलिज गर्न सकिन्छ त्यो मुलुकमा फेस्टिबल गर्नु र त्यो फेस्टिबलमा चलचित्र सम्बन्धि संघ संस्थासँग सल्लाह लिएर उनीहरुलाई समेत समेट्नु पर्छ भनेर हामीले सुझाब दिएका हौं । तर भुवन केसीले एउटा नीजि कम्पनीसँग मिलेर चलचित्र सम्बन्धि संघ संस्थालाई वेवस्ता गर्नु भयो ।’ सोही कारण संस्थागत रुपमा यो फेस्टाप्रति आफुहरुको कुनै सहमती नरहेको उनले बताए ।
यस्तै नेपाल चलचित्र निर्देशक समाजका पदाधिकारी र नेपाल चलचित्र संघका पदाधिकारीले पनि यो फेस्टाकोबारेमा आफुहरुलाई कुनै आधिकारिक पत्र तथा जानकारी बोर्डबाट नआएको बताएका छन् । ३० लाख रुपैयाँ खर्चेर बोर्डले नेपालको तराई क्षेत्रमा नेपाली चलचित्रको प्रवर्धनका लागि थुप्रै कार्यक्रम गरेको भए नेपालमा यो अभियान उपयोगी हुने कथन यी संघ सँस्थाका पदाधिकारीको छ । –राजधानी दैनिकबाट