सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

कुनै पनि व्यक्तिको रगतमा चिनीको मात्रा बढ्नु खतरनाक मानिन्छ । स्वस्थ शरीरको चाहना राख्ने हरेक मानिसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्नु अत्यावश्यक छ ।

रगतमा चिनीको मात्रा बढे मधुमेह (बोलीचालीको भाषामा चिनी रोग) को जोखिम बढ्छ । त्यसैले मधुमेहबाट बच्न खानपान र जीवनशैलीमा विशेष ध्यान दिनु आवश्यक छ । मधुमेह हुनु भनेको मानिसको शरीरले खानालाई शक्तिमा बदल्ने अवस्थामा अवरोध हुनु हो । मधुमेह हुँदा हामीले खाएको खानेकुरालाई चिनी (ग्लुकोज)मा बदलेर शरीरका नसा-नसामा पुर्‍याउने काममा बाधा पुग्छ ।

खानपान र जीवनशैलीमा लापरबाही गरेकै कारण विश्वभर मधुमेहका बिरामीको संख्या दिनहुँ बढिरहेको छ । हेलचेक्र्याइँ गर्दा अवस्था गम्भीर बन्ने जोखिम उत्तिकै हुन्छ। त्यसैले सामान्य व्यक्ति र मधुमेह रोगका बिरामी सबैले रगतमा चिनीको मात्रा सन्तुलनमा राख्नुपर्छ ।

रगतमा चिनीको मात्रा कसरी सन्तुलनमा राख्ने ?
आफ्नो दैनिक खानपानमा चिनीको मात्रालाई नियन्त्रणमा राख्नुपर्छ । चिनी र त्यसबाट बनेका खानेकुरा खानुहुँदैन । चिनीसँगै क्यालोरी, स्याचुरेटेड फ्याट, ट्रान्स फ्याटयुक्त खानेकुरा कम गर्नुपर्छ। यी खानेकुरा स्वास्थ्यका लागि घातक हुने विभिन्न अध्ययनले देखाइसकेका छन् ।

खानपानका साथै शारीरिक तन्दुरुस्ती पनि उत्तिकै महत्त्वपूर्ण छ । दैनिक व्यायाम गर्ने व्यक्तिको शरीरमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ । समयमा खाना खाने, सुर्तीजन्य पदार्थ नखाने, आफ्नो तौल सन्तुलनमा राख्ने, लामो समय भोको पेट नबस्ने र प्याक गरिएका बोतलका पेय पदार्थ खानेकुरा खानु हुँदैन । यसको साटो नरिवलको पानी, ताजा तरकारी र फलफूलको रस, कागती पानी स्वास्थ्यका लागि लाभदायक हुन्छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा सन् १९८० मा १० करोड ८० लाख मानिसमा मधुमेहको समस्या देखिएको थियो । यो संख्या बढेर सन् २०१४ मा ४२ करोड २० लाख पुगेको थियो । मधुमेहले शरीरमा गम्भीर समस्या देखा पर्ने जोखिम हुन्छ । आँखा नदेख्ने, मिर्गौलाको समस्या, रक्तनली र नसामा समस्या, मुटु रोग, हृदयाघात र रक्तसञ्चारको अभावमा शरीरका अंग काटेर फाल्नुपर्ने स्थितिको मुख्य कारण नै मधुमेह रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

पछिल्लो समय मधुमेहका कारण मृत्यु हुनेको संख्यासमेत बढेको तथ्यांक छ । सन् २०१९ मा मात्रै मधुमेह र मिर्गौलासम्बन्धी रोगका कारण २० लाख मानिसको ज्यान गएको थियो । निम्न र मध्यम आय भएका मुलुकहरूमा मधुमेहका कारण मृत्यु हुनेको संख्या १३ प्रतिशतले बढेको छ ।

तपाईको प्रतिक्रिया