काठमाडौं – मुग्लिन-नारायणगढ सडकको विकल्पका रूपमा शक्तिखोर-फिसलिङ सडक तयार भएको छ । उक्त सडकखण्ड आगामी फागुनभित्र सञ्चालनमा आउने भएको छ । ग्रामीण सडकका रूपमा निर्माण गरिएको यस सडकखण्डमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न सकिनेछ ।
२०७५ सालबाट निर्माण थालिएको सडकको काम ९० प्रतिशत सकिएको ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यालयका व्यवस्थापक सुरेन्द्र घिमिरेले जानकारी दिए । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिसलिङबाट शक्तिखोरसम्मको दूरी ४५ किलोमिटर छ । यस क्षेत्रको नौ किलोमिटर पहिला नै निर्माण भएको थियो । निर्माण भएको पुरानो स्थानमा थप फराकिलो पारेर नयाँ निर्माणको काम भएको व्यवस्थापक घिमिरेले बताए ।
अहिले नयाँ निर्माण भएको ३५ किलोमिटर सडकमा कालोपत्रे गर्ने कार्य धमाधम भइराखेको उनले जानकारी दिए । ‘३५ किलोमिटरमध्ये पाँच किलोमिटर जतिमा पहिरोको जोखिम हुने भएकाले त्यस स्थानमा कालोपत्रे कार्य बाँकी राखिएको छ,’ घिमिरेले भने, ‘पहिरोको जोखिमलाई समाधान गरेपछि त्यहाँ कालोपत्रे गरिन्छ, अन्य स्थानमा अहिले कालोपत्रेको कार्य भइराखेको छ ।’ २० किलोमिटर क्षेत्रमा कालोपत्रे भएर ट्राफिक चिह्नसमेत निर्माण भएका छन् । उनले भने, ‘अब यो सडक भएर यात्रा गर्न सकिन्छ ।’
ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत प्रदेश सरकारको लगानीमा यो सडक निर्माण भएको हो । कार्यालयका अनुसार २०७५ फागुनमा ८७ करोड रुपियाँको लागतमा ठेक्का सम्झौता भएको थियो । कोभिड-१९, सामग्रीको अभाव, प्राकृतिक जोखिमलगायतका कारणले पाँच पटक म्याद थपिएर अहिले सम्पन्न हुने तयारीमा रहेको आयोजनाका व्यवस्थापक घिमिरेले जानकारी दिए ।
सोनाक्षी आशिष निर्माण कम्पनीले ठेक्का लिएको सडकको तीन स्थानमा पुल निर्माण गर्नुपर्नेछ। ती स्थानमा अहिले वैकल्पिक मार्ग निर्माण गरेर सवारीसाधन सञ्चालन भइराखेको निर्माण कम्पनीका इन्जिनियर सञ्जय महतोले जानकारी दिए । सडक निर्माणको मात्र ठेक्का लिएको कम्पनीले शक्तिखोलादेखि चितवनको पुरानो सदरमुकाम उपरदाङगढीसम्मको १० किलोमिटर क्षेत्रमा अहिले कालोपत्रेको काम भइराखेको महतोले बताए । ‘अन्य स्थानमा कालोपत्रे भइसकेको छ,’ उनले भने, ‘बीच भागको १० किलोमिटर क्षेत्रमा कालोपत्रे गर्न बेस तयारी अवस्थामा राखेका छौँ, दुई हप्ताभित्र काम सकिन्छ ।’
निर्माण सामग्री र अन्य कुनै विषयले अवरोध भएको छैन । त्यसैले फागुन १५ गते अगाडि नै काम सम्पन्न हुने गरी तयारी अवस्थामा रहेको इन्जिनियर महतोले बताए । कालोपत्रे सकिएपछि सडक चिह्न र बिग्रेको स्थानमा मर्मत गरिनेछ । अबको दुई हप्तामा यो सडक भएर सवारीसाधनले यात्रा गर्न सक्नेछन् । यस सडकको रिद्धि र शक्तिखोलामा पुल निर्माण गर्नुपर्नेछ। ती स्थानमा पनि पुलको ठेक्का लागिसकेको छ ।
पृथ्वी राजमार्गको फिसलिङ, शक्तिखोर हुँदै पूर्व-पश्चिम राजमार्गको टाँडीमा यो सडक जोडिन्छ । मुग्लिनको सडकमा पहिरो आएर बाटो बन्द भएको अवस्थामा अब साना सवारीसाधन तथा बस यही सडक भएर सञ्चालन गर्न सकिने आयोजनाले जानकारी दिएको छ । दुई पालिका जोड्ने मात्र नभएर राजधानी काठमाडौँ जान अर्को वैकल्पिक सडकका रूपमा विकास भएकाले यसको महत्त्व ठूलो भएको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले बताए । –गोरखापत्र दैनिकबाट