चलचित्र पर्वत समाज जापानले नाकानो जेरो हलमा जनवरी ७ तारिखका दिन दुई ‘शो’ प्रदर्शन गर्ने भएको हो ।
टोकियो – यस वर्षकै सर्वाधिक सफल चलचित्रको रूपमा नेपाली चलचित्र उद्योगमा कीर्तिमान बनाउन सफल महापुरुष चलचित्र जापानमा प्रदर्शन हुने भएको छ ।
नेपाली हास्य कलाकारिताका सर्वाधिक लोकप्रिय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायत कलाकारहरूको अभिनय रहेको चलचित्र राजधानी टोकियोको नाकानो जेरो हलमा जनवरी ७ तारिख शनिवार प्रदर्शन हुने भएको हो ।
चलचित्रलाई पर्वत समाज जापानले प्रदर्शन गर्न लागेको अध्यक्ष सुभाष लामिछानेले जानकारी दिए । चलचित्र नाकानो जेरोहलमा जनवरी ७ तारिख शनिवार दिउँसो ३ र साँझ ६ बजे गरेर दुई शो हुने भएको छ । टिकट दर ३,००० जापानी येन तोकिएको छ ।
पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्रमा माया, घृणा, संवेदना, रोमान्स र विद्रोहका अनेक आयामलाई समावेश गरिएको छ । श्रीमती गुमाएको पुरुष पात्र छोराको बिहेको तयारीमा जुट्नुपर्ने बेला बुढेसकालमा आफ्नै विवाह गर्न लागेपछि पारिवरमा आउने उतारचढाव नै चलचित्रको मुख्य कथावस्तु बनेको छ ।
चलचित्रमा महाजोडीसँगै रवीन्द्र सिंह बानियाँ, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार लगायत कलाकारको अभिनय रहेको छ ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ‘महापुरुष’ ले नेपालमा ५१ दिन लामो प्रदर्शनको कीर्तिमानी बनाएको छ । चलचित्रका निर्माता दिपेश खत्री हुन् भने कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ रहेका छन् ।