काठमाडौँ – निश्चल बस्नेत र स्वस्तिमा खड्काको नृत्य रहेको गीत ‘साली मन पर्यो’ले युट्युबमा एक सय मिलियन भ्युज पाएको छ । ‘घामड शेरे’ चलचित्रमा समावेश यस गीतलाई युट्युबमा १० करोड बढी पटक हेरिएको हो ।
तीन वर्षअघि सार्वजनिक गीतमा कालीप्रसाद बास्कोटा र अस्मिता अधिकारीको स्वर छ । कालीप्रसादकै शब्द एवं संगीत रहेको गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन् ।आफूहरुले नृत्य गरेको गीतले युट्युबमा १० करोड भ्युज पाएसँगै निश्चल र स्वस्तिमाले फेसबुकमार्फत खुशी शेयर गरेका छन् । स्रोता एवं दर्शकहरुको मायाका लागि निश्चलले आभार व्यक्त गरेका छन् ।
अभिनेत्री स्वस्तिमाले सम्पूर्ण दर्शक एवं स्रोतामा धन्यवाद दिएकी छिन् । उनले संगीतको महत्व आफ्नो करिअरमा सधै नै रहेको फेसबुकमा उल्लेख गरेकी छिन् । ‘मलाई आज पनि कति दर्शकले मैले अभिनय गरेको चलचित्रले भन्दा मेरो नृत्य रहेको चलचित्रका गीतहरूका कारणले चिनेको अवस्था छ । त्यसको उदाहरण ‘कुटुमा कुटु सुपारी दाना’ गीत हो । जुन आजसम्मकै सर्वाधिक हेरिएको गीतमा पर्न सफल छ’ स्वस्तिमाले लेखेकी छिन्, ‘अहिले आएर ‘साली मन पर्यो’ गीतले पनि १० करोड पटक हेरिएर तेस्रो सर्वाधिक हेरिएको गीतमा पर्न सफल भएको खुशी थपिएको छ ।’
स्वस्तिमाले नृत्य गरेको ‘कुटुमा कुटु सुपारी दाना’ आजसम्मकै युट्युबमा सर्वाधिक हेरिएको गीत हो । जुन गीतले अहिलेसम्म १८ करोड भ्युज पाएको छ । दोस्रो सर्वाधिक हेरिएको गीत भने टिका प्रसाईँको गीत ‘माया लुकी लुकी’ हो । यस गीतले युट्युबमा १३ करोड १४ लाख भ्युज पाएको छ ।