टोकियो – नेपाल भलिबल संघ जापान शाखाको दोस्रो अधिवेशन यही तेस्रो साता हुने भएको छ । सन् २०१७ सालमा स्थापना भएको जापान शाखाको दोस्रो अधिवेशन नोभेम्बर २२ तारिख मंगलबारका दिन सिनओकुबो स्थित सोलमारी मुरा हलमा हुने भएको हो ।
मंगलबार सम्पन्न बैठकले अधिवेशनको मिति र स्थान तय गरेको शाखाका महासचिव भिक्टर ठाडा मगरले जानकारी दिए । अधिवेशनलाई सफल पार्नका लागि साथै कुशल नेतृत्व चयन गर्नका लागि नेपाल भलिबल संघ गण्डकी प्रदेशका अध्यक्ष नवीन गुरुङको संयोजकत्वमा निर्वाचन समिति र अधिवेशनलाई आवश्यक तयारी गर्नका लागि अध्यक्ष रत्नसिंह बस्नेतको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको समेत मगरको भनाई छ ।
अधिवेशनले आगामी २०२२२०२४ को कार्यकालका लागि नयाँ कार्यसमिति समेत चयन गर्नेछ । नयाँ कार्यसमिति चयनका लागि सबैको अपनत्व हुने गरी भलिबल क्षेत्रको मर्म र भावना अनुसार संस्थाको गरिमालाई निरन्तरता दिने सक्षम नेतृत्व चयन गर्न आवश्यक तयारी गरिएको संयोजक नवीन गुरुङले बताए । वैदेशिक रोजगारीको सिलसिलामा जापानमा रहेका खेलाडी, खेलकुदप्रेमी र विभिन्न संघसंस्था बिचमा समन्वय, साझेदारी एवंम् सहकार्यको वातावरण सृजना गरी भलिबलको विश्वव्यापी मूल्य र मान्यता अनुसार संस्थाले स्थापना कालदेखि नै खुल्ला रनिङ कप पुरुष भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।
भलिबल नेपालमा सर्वाधिक लोकप्रिय तथा राष्ट्रिय खेल हो । नेपालका लागि भौगोलिक रूपमा सुहाउँदो र ७७ वटै जिल्लामा खेलिने खेल हो भलिबल । त्यसैले पछिल्लो समयमा भलिबल नेपालमा पनि टोल टोल देखि वडा हुँदै विभिन्न स्तरका प्रतियोगितासमेत हुँदै आएका छन् । नेपाल सरकारबाटै नेपालको राष्ट्रिय खेलको दर्जा प्राप्त गरे पछि यो भलिबल खेलको लोकप्रियता नेपालमा दिन प्रतिदिन झन् बढ्दो क्रममा रहेको र जापानमा पनि त्यो लोकप्रियतालाई अझै उचाइमा पुराएको अध्यक्ष बस्नेतको भनाई छ ।
खेलकुदका साथै भलिबल क्षेत्रको विकासको लागि खेलकुद पूर्वाधारको विकास हुन आवश्यक छ । खेललाई मनोरञ्जनका रूपमा मात्र सीमित पारिरहनु हुँदैन र हेरिनु हुँदैन भन्ने बस्नेत को भनाई छ ।