काठमाडैं – महामारीको लामो कहरपछि पहिलोचोटी विदेशको सांगीतिक यात्राका लागि नेपथ्य दुबइ जाने भएको छ । आगामी नोभेम्बर ६ तारिख (कात्तिक २० गते) नेपथ्य ब्याण्ड दुबइमा तेस्रो पटक प्रस्तुत हुने भएको छ ।
चाडपर्वको बेला आफन्तबाट टाढा रहेका नेपाली दाजुभाइलाई दशैं, तिहार र छठको संगीतमय कोशेलीसहित नेपथ्य दुबइ जान लागेको बताईएको छ ।
विश्व बजारकै महत्वपूर्ण थलो बन्दै गइरहेको दुबइ सहर नेपाली कामदारको प्रमुख गन्तब्य मुलुकमध्येको युनाइटेड अरब इमिरेट्सको व्यापारिक केन्द्र पनि हो । यो पटक नेपथ्यले दुबइको ‘अल नासेर लिजरल्याण्ड’मा प्रस्तुती गर्नेछ ।
कोरोना महामारीपछि जुर्मुराउँदै गरेको यो सहरमा हालै सम्पन्न छ महिना लामो ‘दुबइ एक्स्पो’का कारण विश्वभरका १ सय ९२ मुलुकबाट दुई करोड चालिस लाख सहभागीले भ्रमण गरेका थिए ।
नेपथ्यको प्रस्तुती कर्मभूमि दुबइमा हेर्न पाउने भएपछि त्यहाँका नेपालीले पनि खुसी व्यक्त गरेका छन् । ६ वर्षदेखि एयर अरेबियाको जहाज उडाउँदै आएका पाइलट आयुष मान डंगोलले नेपथ्यको आगमनले नेपालीमाझ दुबइमा हलचल ल्याउने बताए ।
यो कन्सर्टको टिकट दुबइ लगायत आसपासका छेत्रहरुमा समेत उपलब्ध गराइएको छ । स्थानीय आयोजकका अनुसार दुबइमा हुने नेपथ्य कार्यक्रमको टिकटको मूल्य ५० तथा १०० युएइ दिराम राखिएको छ ।
कार्यक्रममा सँधैजस्तै अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिने छन् । आगामी नोभेम्बर ६ तारिखमा हुने कार्यक्रमका लागि नेपथ्यको टोली नोभेम्बर ३ तारिख त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।***