काठमाडौं – हरिवंश आचार्यको प्रमुख भूमिका रहेको फिल्म ‘महापुरुष’ आजदेखि नेपाल, अष्ट्रेलिया र अमेरिकामा एकसाथ रिलिज भएको छ । नेपालका एकसय ११ हलदेखि प्रदर्शन सुरु भएको हो । शुक्रबार बिहानैदेखि फिल्मको अकुपेन्सी आक्रामक देखिएको छ । मध्यान्ह र अपरान्हका शोजको अकुपेन्सी पनि शतप्रतिशत हुने प्रक्षेपण छ । बलियो मार्केटिङ शैली, पब्लिसिटी र ट्रेलरबाटै फिल्मले प्राप्त गरेको संवेदनाको प्रभाव ओपनिङमा देखिने अपेक्षा छ ।
आइतबारसम्मै तिहार र छठ् बिदा पनि भएकाले पहिलो सप्ताहन्तमा ‘महापुरुष’को ओपनिङ उछाल हुने अनुमान छ । ट्रेन्ड हेर्दा फिल्मले दुई अंकसम्मको कमाइ गर्नसक्छ ।काठमाडौं, चितवन र इटहरीमा भएका तीन अलग प्रिमियरको प्रतिक्रियाको फाइदा समेत महापुरुषलाई हुनेछ । तर, फिल्म रिलिज भएपछि मात्र यसले दर्शकबाट वास्तविक वर्ड अफ माउथ हासिल गर्नेछ जुन यसको लाइफटाइम दौडका लागि महत्वपूर्ण हुनसक्छ ।
प्रदीप भट्टराई निर्देशित यो सोसल ड्रामा फिल्मले एक्लोपनको जीवन बाँचिरहेका एकल पुरुषको कथा भन्छ । हरिवंशसहित फिल्ममा रविन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइलीको प्रमुख भूमिका छ । दिपेश म्याक्स खत्री निर्माता रहेको फिल्मको कार्यकारी निर्माता चाहिँ रविन्द्रसिंह बानियाँ हुन् ।