मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024

काठमाडौँ – नेपाल केन्यासँग १८ रनले पराजित भएको हो । योसँगै  टी-२० सिरिज दोस्रो खेल सकिदा १–१ को बराबरीमा पुगेको छ । यसअघि नेपालले पहिलो खेलमा ५ विकेटको सहज जित निकालेको थियो । १ सय ३३ रनको विजय लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सबै विकेट गुमाएर ११४ रनमात्र जोड्न सक्यो । नेपालको लागि मध्यक्रमका आरिफ शेखले सर्वाधिक २५ रनको योगदान दिए । उनले २१ बलमा २ चौका र एक छक्का प्रहार गरे ।

उपकप्तान रोहित कुमार पौडेल र आदिल अन्सारीले समान २० रन जोडे । ओपनर पवन सर्राफले २६ बलमा ३ चौकाको मद्दतमा १९ रन बटुले । अर्का ओपनर आसिफ शेख ५ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्ल ४ बल खेल्दै १ रनमा पभेलियन फर्किए । दिपेन्द्र सिंह ऐरी ३ बलमा ३ रनमा आउट भए । अलराउन्डर करण केसी ६ रनमा आउट भए । कप्तान सन्दीप लामिछानेले ८ बलमा ७ रन बटुले । सोमपाल कामी २ रनमा आउट भए । केन्याका इमानयुल बुन्डी, लुकास ओलुओच र भिरज पटेलले समान २ विकेट लिए । इगुइन ओचिइङ र नेहेमियाले समान एक विकेट लिए

त्यसअघि नैरोबीस्थित जिमखाना क्लब ग्राउन्डमा कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान ३ विकेट लिएपछि केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रनको जोडेको थियो । केन्याका लागि राकेप पटेलले सर्वाधिक ३५ रन जोडे । निहिमी अडिहिम्बोले २९, इरफान करिमले २२ र सचिन भुदियाले १४ रन बनाएका थिए । त्यसबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान सन्दीपले ४ ओभरमा २६ रन खर्चेर र दीपेन्द्रले ३ ओभरमा १६ रन दिदै समान ३ विकेट लिएका थिए । करण केसीले २ र पवन सरार्फले १ विकेट लिए ।

केन्या र नेपालबीचको खेल तालिका

तेस्रो टि२० आई खेल – भदौं १२ (अगष्ट २८)

चौथो टि२० आई खेल – भदौं १३ ( अगष्ट २९)

पाँचौं टि२० आई खेल – भदौं १४ (अगष्ट ३०)

तीन एकदिवसिय अभ्यास खेल

पहिलो खेल – भदौ १७ (सप्टेम्बर २)

दोस्रो खेल – भदौ १८ (सप्टेम्बर ३)

तेस्रो खेल – भदौ २० (सप्टेम्बर ५)

तपाईको प्रतिक्रिया