सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आउँदाे साता इन्टरनेटमा आधारित सिमकार्ड (ई-सिम) को व्यावसायिक सुरुवात गर्ने भएको छ ।

हाल बजारमा उपलब्ध हुने प्लास्टिक तथा धातुबाट निर्मित चिप जडित कार्डको विकल्पमा कम्पनीले मोबाइल तथा अन्य डिजिटल उपकरणमै ‘इम्बेड’ अर्थात् गाँस्न सकिने ई-सिम ल्याउन लागेकाे हो ।

त्यसका लागि आवश्यक सम्पूर्ण परीक्षण सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । ‘हामीले ई-सिमका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी गरिसकेका छौं,’ टेलिकम स्राेतले भन्यो, ‘टेलिकम बोर्डलाई ई-सिमको बिक्री वितरणबारे जानकारी गराउनुपर्ने हुँदा त्यसैको पर्खाइमा अड्किएको हो । यो साताभित्र बोर्डलाई जानकारी गराउने र अर्काे सातादेखि सेवा सञ्चालनमा ल्याउने तयारी भएको छ ।’

यसअघि टेलिकमले साउनमै यो सेवा सञ्चालनमा ल्याउने तयारी गरेकाे थियाे । तर, त्यसबेला बिक्री वितरण गर्ने मोडेलको तयारी नहुँदा ढिलाइ भएको उल्लेख गरेको थियो । तर, अब भने आवश्यक सम्पूर्ण तयारी सम्पन्न गरी सेवा सुरु गर्नमात्रै बाँकी रहेको टेलिकम स्राेतले उल्लेख गरेकाे छ ।

ई-सिमका लागि ग्राहक भौतिक रूपमा नै कार्यालयमा पुगेर लिनुपर्ने व्यवस्था गरिएको छ । सुरुमा भौतिक उपस्थितिलाई नै मान्यता दिइए पनि क्रमशः अनलाइनमा रूपान्तरण गर्ने कम्पनीकाे तयारी छ ।

तपाईको प्रतिक्रिया