शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले नागरिकता विधेयकलाई राजनीतिकरण गर्न खोजिएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा नागरिकता विधेयकमाथिको छलफलका क्रममा ज्ञवालीले नागरिकतासम्बन्धी विषय राष्ट्रियतासँग जोडिएको विषय भएकाले कुनै दलले राजनीतिकरण गर्न नहुने बताएका हुन् ।

उनले नागरिकताका विषयमा जनमत विभाजित किमार्थ गर्न नहुने बताए । उनले नागरिकता विधेयक छिटो टुङ्गो लगाउन प्रमुख प्रतिपक्ष रहेको भन्दै जबरजस्ती, टाउकाको गिन्तीको आधारमा टुङ्गो लगाउन खोजिए यसका दुष्परिणाम राम्रो नहुने जिकिर गरे । राष्ट्रपतिबाट उक्त विधेयक फिर्ता आएर छलफलका लागि अवसर प्राप्त भएको ज्ञवालीको भनाई छ ।

उनले राष्ट्रपतिले आमाको गरिमा, प्रादेशिक पहिचान या अन्य यावत प्रश्नहरूलाई एकमुष्ट समाधान गरेर नागरिकता विधेयकलाई सर्वस्वीकार्य दस्ताबेज बनाइयोस् भनेर अवसर दिएको दाबी गरे ।

त्यस्तै कांग्रेस सांसद मीन विश्वकर्माले नागरिकता विधेयकमा सम्बन्धमा दलहरूले मौसमी राष्ट्रियता देखाएको टिप्पणी गरे । पूर्व फर्किँदा एक खालको, पश्चिम फर्किँदा एक खालको राष्ट्रियता, उत्तर फर्किँदा एक खालको र दक्षिण फर्किँदा एक खालको राष्ट्रियता हुने गरेकाले समस्या भएको उनले बताए । उनले यसअघिको अध्यादेशलाई जस्ताको तस्तै विधेयक बनाइएको र यो राष्ट्रिय सहमतिमा नै भएको जिकिर गरे ।

त्यस्तै माओवादी केन्द्रका सांसद वर्षमान पुनले कार्यकारीको काममा प्रश्न उठाउने अवस्था आउन नदिने गरी पुन संसद्बाट पारित गर्नुपर्ने बताए । अहिलेको आवश्यकताका अनुसार नै नागरिकता विधेयक ल्याइएको भन्दै उनले यसलाई आवश्यकता अनुसार आगामी दिनमा राष्ट्रिय सहमति अनुसार अघि बढाउन सकिने सरकारको प्रतिबद्धता आएको जिकिर गरे । उनले नागरिकताजस्तो विषयलाई राजनीतिकरण नगर्न आग्रह गरे ।

बैठकमा राष्ट्रिय जनमोर्चाकी सांसद उपाध्यक्ष दुर्गा पौडेलले यो विधेयकलाई खारेज गरेर नागरिकताका विषयमा व्यापक छलफल गरेर अर्को विधेयक ल्याउनुपर्ने धारणा राखे । त्यस्तै सांसद हृदयेश त्रिपाठीले विधेयकलाई फिर्ता गर्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे ।

तपाईको प्रतिक्रिया