Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – नेपालमा विदेशी मुद्रा सञ्चितिको अवस्था सुखद नरहेका कारण अहिले मूलतः अमेरिकी डलरको मूल्यबारे चासो व्याप्त छ । नेपालले गर्ने विदेशी मुद्रा कारोबारमा डलरको भूमिका बढी भएकोले पनि सरकारी निकायदेखि सर्वसाधारणमा डलरको मूल्यबारे चासो रहेको पाइन्छ ।

पछिल्लो विनिमय दर अनुसार अहिले १ अमेरिकी डलरको खरिद मूल्य १२७.५१ रुपैयाँ पुगेको छ । डलरबाहेक ब्रिटिश पाउन्ड, युरो, अस्ट्रेलियन डलर लगायतका विदेशी मुद्राको भाउ धेरैको चासोको विषय रहन्छ । त्यसबाहेक कतार, दक्षिण कोरिया, मलेशिया र साउदी अरब लगायतका नेपालीका लागि प्रमुख श्रम गन्तव्यका रूपमा स्थापित मुलुकहरूको मुद्राको मूल्यबारे पनि बेलाबखत चर्चा हुने गर्छ ।

तर के तपाईँलाई थाहा छ नेपालमा अमेरिकी डलरदेखि ब्रिटिश पाउन्डभन्दा पनि महँगोमा कारोबार हुने अर्कै कुनै मुद्रा छ ? नेपाल राष्ट्र बैङ्कले सोमवारका लागि तय गरेको विनिमय दर अनुसार १ ब्रिटिश पाउन्डको मूल्य १५१.१५ रुपैयाँ छ भने स्विट्जरल्यान्डको मुद्रा स्विस फ्र्याङ्कको भाउ १३०.६१ रुपैयाँ छ ।

तर सबैभन्दा महँगो मुद्राका रूपमा भने कुवेतको दिनार सूचीकृत छ जसको मूल्य ४१४.४० रुपैयाँ कायम छ । त्यसपछिको सबैभन्दा महँगो मुद्रामा बहराइनको दिनार रहेको छ जसको बजार मूल्य ३३८.२५ छ ।

दिनार महँगो हुनुको कारण के हो ?
प्रशस्तै तेल रहेको कुवेत साउदी अरब, इराक र इराननजिकै अवस्थित छ । अमेरिकी डलरदेखि पाउन्डजस्ता मुद्राको कतिपय वस्तु तथा सेवा आयातका लागि अन्तर्राष्ट्रिय बजारमा बढी माग हुन्छ जसले गर्दा ती मुद्रा बलियो भएका छन् । त्यस्तै सेवाको भुक्तानीका लागि पनि ती मुद्राको माग उच्च हुने बताइन्छ ।

तर केन्द्रीय ब्याङ्कका एक पूर्वडेप्युटी गभर्नरका अनुसार कुनै पनि मुद्राको सामर्थ्य आधारभूत रूपमा एउटै मात्र तत्त्वले निर्देश गर्छ जसलाई पीपीपी अर्थात् पर्चेजिङ पाओर प्यारीटी भनिन्छ । यसको साइनो मुद्रास्फीति अर्थात् बजार महँगीसँग रहेको बताइन्छ । ‘कुनै पनि मुद्राको विनिमय दर १००,२००,३०० भनेको … त्यसलाई डिटरमाइनिङ फ्याक्टर (निर्धारण गर्ने तत्त्व) भनेको त्यो मुद्राको पर्चेजिङ पाओर (खरिद गर्ने शक्ति) बराबर हुन्छ। त्यसलाई सोझो हिसाबले भन्दा १ दिनारको ४ डलर पर्छ भन्नुको अर्थ कुवेतमा एक दिनारमा कुनै वस्तु पाइन्छ भने अमेरिकामा त्यसको लागत ४ डलर पर्छ,’ नेपाल राष्ट्र ब्याङ्कका पूर्वडेप्युटी गभर्नर कृष्णबहादुर मानन्धरले भने ।

अर्थतन्त्रको आकार लगायतका पाटाहरूले भने यसमा उल्लेख्य फरक नपार्ने उनको भनाइ छ । ‘दक्षिण कोरिया नेपालभन्दा धेरै विकसित छ। तर सटही दर त्यति बलियो छैन। मुद्राको शक्ति खरिद शक्तिमै भर पर्छ,’ मानन्धरले भने । नेपालमा मात्रै नभएर दिनार विश्व बजारमै महँगो मुद्राका रूपमा स्थापित छ ।

सोमवारको सटही दर हेर्दा १ कुवेती दिनार बराबर ३.२५ अमेरिकी डलर कायम रहेको देखिन्छ । १ ब्रिटिश पाउन्डको मूल्य २.७3 कायम छ । कुनै पनि मुद्राको बलियो हुनमा उक्त मुलुकको ब्याज दर र बजार महँगीको प्रभावमा आधारित रहने बताइन्छ । पछिल्लो अवधिमा कमजोर देखिएका मुद्राहरूमा आर्जेन्टिनाको पेसो र टर्कीको लिरा पर्छन् । ती मुद्रा कमजोर हुनुको कारण उच्च मुद्रास्फीति रहेको जानकारहरू बताउँछन् । -बीबीसी

तपाईको प्रतिक्रिया