काठमाडौं – विश्व अर्थतन्त्र नै क्राइसिस उन्मूख भएपछि त्यसको असर क्रिप्टो करेन्सीमा अधिक देखिन थालेको छ । अनौपचारीक मुद्राको रुपमा तिब्र गतिमा अघि बढेको क्रिप्टो करेन्सी पछिल्लो समयमा क्र्यास नै हुने गरी घट्दो गतिमा देखिएको हो । पछिल्लो तथ्याङ्क अनुसार क्रिप्टोकरेन्सीको मूल्यमा भारी गिरावट आएको छ । क्रिप्टोकरेन्सीको बादशाह मानिने बिटकोइन पछिल्लो ६ महिनाको अन्तरालमा ५७.७८ प्रतिशतले घटेको छ ।
विगत एक महिनामा मात्र क्रिप्टोको मूल्य ३४.७५ प्रतिशतले घट्दा बिटकोइनको मूल्य १९ हजार ७ सय ८६ डलर कायम भएको छ । विज्ञहरुले आकाशिएको मूल्य वृद्धि र यसलाई नियन्त्रण गर्न केन्द्रीय बैंकहरुले आक्रामक रुपमा ब्याज दर वृद्धि गरेका कारण क्रिप्टोकरेन्सीको मूल्य घटेको बताएका छन् ।
शनिबार बिटकोइनको मूल्य सन् २०२० डिसेम्बर यताकै कम १७ हजार ५ सय ९३ पुगेको थियो । यसै सम्बन्धमा टलब्याकेन क्याप्टिलका प्रमुख कार्यकारी अधिकृत माइकल पुर्वसले स्टक मार्केटमा आएको गिरावट र बिटकोइन लगायतका क्रिप्टोकरेन्सीमा आएको गिरावटलाई अन्तर सम्बन्धित मान्न सकिने बताएका छन् । उनले बिटकोइनको मूल्य १५ हजार वा सो भन्दा तल आउन सक्ने बताएका छन् ।
सन् २०२१ को नोभेम्बर महिनामा ६८ हजार पुगेको बिटकोइन १७ हजारमा पुग्दा लगानीकर्ताहरुको मनोबल कमजोर हुन पुगेको छ । टेरा युएसडी कोल्याप्स भएपछि लगानीकर्ताहरु बिटकोइन कोल्याप्स हुन्छ कि भन्ने डरमा बसेका छन् ।