Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – नेपाल चेम्बर अफ कमर्सले औद्योगिक लगानीका लागि जापानसँग आग्रह गरेको छ । उद्योग, जलविद्युत्, सडक तथा पर्यटनको क्षेत्रमा लगानीका लागि चेम्बरले जापानसँग आग्रह गरेको हो ।

नेपालका लागि जापानी राजदूत किकुता युताकासँग आज भएको भेटवार्तामा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जापानी लगानीको सुरक्षणका लागि आफूहरुले सरकारसँग पहल गर्ने बताए । भेटवार्तामा मल्लले भने, ‘वैदेशिक लगानीको सुरक्षणका लागि नेपालले पछिल्लो समय नीतिगत तहमा थुप्रै सुधार गरिसकेको छ । आगामी वर्षको बजेटमा पनि सरकारले ५० वर्षसम्म जग्गा भाडामा उपलब्ध गराउने घोषणा गरेको छ, जपानी लगानी सुरक्षण गर्न हामी प्रतिवद्ध छौं ।’

अध्यक्ष मल्लले नेपालमा खपत हुने र अन्तर्राष्ट्रिय रुपमा बढी माग हुने वस्तुको नेपालमै उद्योग खोल्न राजदूत समक्ष आग्रह गरे । नेपालमा जग्गाको मूल्य र श्रमको लागत सस्तो पर्ने भन्दै अध्यक्ष मल्लले जापानी लगानीमा उद्योग खोलेर भारत, चीनजस्ता राष्ट्रमा व्यापार गर्न सकिने बताए ।

जापानका निजी क्षेत्रसँग आफूहरुले सहकार्य गर्न चाहेको अध्यक्ष मल्लले बताए । सरकारले बजेटमार्फत कृषिलाई उच्च प्राथमिकतामा राखेको भन्दै अध्यक्ष मल्लले नेपालको कृषि क्षेत्रमा जापानी प्रविधि भित्र्याउनका लागि पहल गरिदिन पनि राजदूत युताकासँग आग्रह गरे ।

चेम्बर पदाधिकारीसँगको भेटपछि राजदूत युताकाले नेपाल र जापानबीचको दुई पक्षीय सम्बन्ध ऐतिहासिक भएको बताए । उनले भने, ‘दुई देशबीचको सम्बन्ध बलियो छ । यसलाई हामी नागरिकको तहबाट थप नजिक ल्याउन चाहन्छौं ।’

राजदूत युताकाले नेपालसँग आर्थिक र सामाजिक सबै तहमा सहकार्य जारी रहने प्रतिबद्धता समेत जनाए । नेपाललाई जापान र दातृनिकाय मार्फत लामो समयदेखि सहयोग हुँदै आएको र यो क्रम अझै जारी रहने उनले बताए । जापानको लगानी भित्र्याउनका लागि नेपालले आफ्नो अन्तर्राष्ट्रिय प्रतिस्पर्धी क्षमतामा सुधार गर्नुपर्ने राजदूत युताकाको भनाइ छ ।

तपाईको प्रतिक्रिया